काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सामान्य हिसावले कार्य सम्पादन गरेर राजश्वको लक्ष्य भेट्न सम्भव नरहेको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित राष्ट्रिय कर दिवस—२०८१ को कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । उनले कर प्रणालीलाई आधुनिकीकरण गर्ने, प्रविधिमैत्री जनशक्ति विकास गर्ने, कार्य प्रक्रिया सरलीकरण गर्ने, जोखिममा आधारित कर परीक्षण तथा अनुसन्धान एवं व्यवसायिक संगठन र कार्यविशिष्टीकरण लगायतका सुधारका लागि पहलकदमी लिन आग्रह गरे ।
उनले करको दायरा बिस्तार गर्ने, कर दातामैत्री वातावरण सिर्जना गर्ने, कर दाता सेवाको गुणस्तरमा वृद्धि गर्ने, कर छली लगायतका कार्यमा थप सक्रियता अपनाउन आवश्यक रहेको बताए । उनले सूचना प्रविधिको प्रयोगमा बिस्तार एवं सोको गुणस्तरीयता र दिगोपन कायम गर्दै समय र लागत न्युन हुनेगरी सेवा प्रवाहमा प्रभावकारिता अभिवृद्धि गर्नका लागि थप क्रियाशिल हुनका लागि कर प्रशासनलाई निर्देशन दिए ।
उपप्रधानमन्त्री पौडेलले जनताबाट संकलन गरिने कर र त्यसको सही सदुपयोगबाट मात्रै राष्ट्रको समृद्धिको आधार तयार हुनसक्ने बताए । उनले कर संकलनमा केन्द्रित हुन कर प्रशासन र कर प्रशासनसँग सम्बन्धित निकायहरुलाई निर्देशन दिए । संघीयताले आर्थिक केन्द्रहरु बिस्तार भएपनि सो अनुपातमा राजश्व संकलन बढ्न नसकेको बताए । उनले जिम्मेवार र जवाफदेही हिसावले राजश्व संकलनको काममा केन्द्रित हुन कर्मचारीहरुलाई निर्देशन दिए ।
२०८० असोज र २०८१ असोजको कार्य सम्पादन सूचकहरुको प्रगतिको अवस्था मूल्यांकन गर्दा अधिकांश परिसूचकमा गत वर्षको यसै अवधिको जति पनि प्रगति भएको पाउन नसकेको बताए । बजार अनुगमनको संख्या गत वर्षको जारी अवधिको भन्दा पनि न्युन रहेको बताए । वक्यौता असुली, बेरुजु फस्र्यौट, आन्तरिक प्रशासनिक पुनरावलोकनको प्रगति पनि सन्तोषजनक नरहेको बताए ।
उनले भने, ‘कर प्रणालीलाई आधुनिकीकरण गर्ने, प्रविधिमैत्री जनशक्ति विकास गर्ने, कार्य प्रक्रिया सरलीकरण गर्ने, जोखिममा आधारित कर परीक्षण तथा अनुसन्धान एवं व्यवसायिक संगठन र कार्यविशिष्टीकरण लगायतका सुधारका लागि पहलकदमी लिनका लागि पनि म हार्दिकतापूर्वक आग्रह गर्न चाहन्छु । करको दायरा बिस्तार गर्ने, कर दातामैत्री वातावरण सिर्जना गर्ने, कर दाता सेवाको गुणस्तरमा वृद्धि गर्ने, कर छली लगायतका कार्यमा थप सक्रियता अपनाउन आवश्यक छ ।
सूचना प्रविधिको प्रयोगमा बिस्तार एवं सोको गुणस्तरीयता र दिगोपन कायम गर्दै समय र लागत न्युन हुनेगरी सेवा प्रवाहमा प्रभावकारिता अभिवृद्धि गर्नका लागि थप क्रियाशिल हुनका लागि कर प्रशासनलाई निर्देशन गर्दछु । संघीयताले आर्थिक केन्द्रहरु बिस्तार भएका छन् । खर्चका युनिटहरु एवं आर्थिक गतिविधिहरु बिस्तारित भएका छन् । अर्थतन्त्रको आकार बढ्दै गएको छ ।
तर सो अनुपातमा जसरी राजश्व संकलन बढ्नुपर्ने हो, त्यो बढ्न सकेको मैले पाएको छैन । म कर्मचारी साथीहरुलाई जिम्मेवार र जवाफदेही हिसावले राजश्व संकलनको काममा केन्द्रित हुन निर्देशित गर्न चाहन्छु । साथीहरुलाई दिइएको जिम्मेवारीको कार्यसम्पादन र लक्ष्य एवं प्रगतिको तुलनात्मक अध्ययन गर्दा प्रगतिको अवस्था सन्तोषजनक रहेको पाउन सकेको छैन । २०८० असोज र २०८१ असोजको कार्य सम्पादन सूचकहरुको प्रगतिको अवस्था मूल्यांकन गर्दा अधिकांश परिसूचकमा गत वर्षको यसै अवधिको जति पनि प्रगति भएको पाउन सकेको छैन ।
बजार अनुगमनको संख्या गत वर्षको यसै अवधिको भन्दा पनि न्युन रहेको छ । वक्यौता असुली, बेरुजु फस्र्यौट, आन्तरिक प्रशासनिक पुनरावलोकनको प्रगति पनि सन्तोषजनक छैन । यस तथ्यले पनि म साथीहरुलाई कार्य सम्पादनमा थप गम्भीर हुन हार्दिकतापूर्वक आग्रह र निर्देशित गर्न चाहन्छु । मैले यो विषयलाई अत्यन्तै गम्भीरतापूर्वक लिएको छु । सामान्य हिसावले कार्य सम्पादन गरेर लक्ष्य भेट्न सम्भव छैन ।’
उपप्रधानमन्त्री पौडेलले सरकारप्रति नागरिकको अपेक्षा बढ्दो क्रममा रहेको बताए । सामाजिक सुरक्षा, विकास निर्माण, संघीयता कार्यान्वयन, अन्य अनिवार्य दायित्वका खर्चहरुले श्रोतमाथिको दबाब बढिरहेको बताए । कर प्रणालीको सार, लगानीको आधार भन्ने नाराका साथ राष्ट्रिय कर दिवस—२०८१ मनाइएको हो ।