विराटनगर । स्वास्थ्य मन्त्रालय कोशी प्रदेशको बेरुजु ४१ करोड ३९ लाख १३ हजार ५ रुपैया ८४ पैसा रहेको छ । मन्त्रालयले दिएको जानकारी अनुसार असुल गर्नुपर्ने बाँकी बेरुजु ३ करोड ५ लाख १ हजार ३ सय ६१ पैसा रहेको छ भने नियमित गर्ने बाँकी बेरुजु ३७ करोड ६२ लाख १ हजार ३ सय २३ रुपैया रहेको छ ।
मन्त्रालयको ७१ लाख ३३ हजार ६ सय ७४ रुपैया पेश्की बाँकी रहेको छ । मन्त्रालयको पाँच आर्थिक बर्षको ४८ करोड ४१ लाख ६४ हजार ६६ रुपैया ८२ पैसा बेरुजु रहेकोमा फछ्यौट भएर ४१ करोड ३९ लाख १३ हजार ५ रुपैया बाँकी रहेको हो ।
मन्त्रालयको आर्थिक बर्ष २०७५/०७६ मा २ करोड २४ लाख ६२ हजार ६५३ रुपैया ९६ पैसा बेरुजु रहेकोमा आर्थिक बर्ष २०७६/०७७ मा ७ करोड ५८ लाख ६४ हजार ३० रुपैया ६६ पैसा बेरुजु रहेको थियो । त्यस्तै आर्थिक बर्ष २०७७/०७८ मा १३ करोड २८ लाख ९ हजार १६ रुपैया बेरुजु रहेकोमा आर्थिक बर्ष २०७८/०८९ मा १२ करोड २५ लाख ७३ हजार ५३९ रुपैया २७ पैसा बेरुजु रहेको थियो ।
त्यसैगरी आर्थिक बर्ष २०८९/०८० मा १३ करोड २९ लाख ७४ हजार ८२७ रुपैया ४३ पैसा बेरुजु रहेको मन्त्रालयले जानकारी दिएको छ ।
कोशी प्रदेशका स्वास्थ्य मन्त्री भुपेन्द्र राईले असु गर्ने बाँकी बेरुजु र नियमित गर्ने केरुजु कम गर्ने बताए । उनले भने, ‘मन्त्रालयको बेरुजुको रकम घटाउँदै लान्छौं । असुल गर्नुपर्ने बेरुजुलाई कडाईका साथ असुल उपर गर्दर्छौ ।’ मन्त्रालयमा सुशासन कायम गर्नका लागि आफु लागि परेको पनि मन्त्री राईले बताए । ‘यसको लागि सबैको साथ सहयोग आवश्यक पर्छ’, उनले भने, ‘नियमसंगत काम नगरेर नै बेरुजु रकम बढेको हो । निति नियम र ऐन कानुन भित्र रहेर काम गर्दा यो समस्या आउँदैन । त्यसकारण बेरुजु नआउने हिसाबमा काम गर्नेछु ।’
नेपाली कांग्रेसबाट मन्त्री बनेका राई भौतिक पूर्वाधार मन्त्री पनि हुन । उनले आफुले स्वास्थ्य मन्त्रालय सम्हालेको ३५ दिन भएको जानकारी दिदै मन्त्रालयको अवस्था र प्रदेशको स्वास्थ्य अवस्थामाको बारेमा जानकारी लिईरहेको बताए ।
३५ दिनमा आईपुग्दासम्म अस्पतालहरुको अवस्था बुझ्दा कोशी प्रदेश मातहतका अस्पतालहरुका धेरै अरबौँको सम्पति ड्यामेज भएर राखिएको अवस्थामा भेटिएको मन्त्री राईले जानकारी दिए ।
कुन जिल्लाको कुन अस्पतालमा कति वटा खरिद गरेको सामान रहेको भन्ने तथ्यांक निकालिसकेको जानकारी दिदै चल्ने तथा मर्मत गरेर हुने खालका सामान पूनःसञ्चालन गरिने समेत राईले जानकारी दिए ।
कडा रोग लागेका ३२४३ जना विरामीको निवेदन
कोशी प्रदेश सरकारले कडा रोग लागेका विरामीलाई उपचार खर्च दिने कार्यक्रम अन्तर्गत स्वास्थ्य मन्त्रालयमा कडा रोग लागेका ३ हजार २ सय ४३ जना विरामीले निवेदन दिएका छन् । जसमा ५ सय १५ जनाको भुक्तानी दिने निर्णय भईसकेको र २ हजार ७ सय ३४ जनाको भुक्तानी हुन बाँकी रहेको मन्त्री राईले सुनौलो नेपाललाई जानकारी दिए । निवेदन आएको ३५ जना विरामीको फाईल दर्ता गर्न नै बाँकी रहेको उनले बताए ।
कोशी प्रदेश सरकारले क्यान्सर, मृगौला, मुटुरोग सम्वन्धि विरामी भएका विरामीलाई उपचार खर्च दिदै आएको छ । गत आर्थिक बर्षमा ५ करोड वितरण गरेको र चालु आर्थिक बर्षको लागि पनि ५ कराड बजेट बिनियोजन भएको मन्त्री राईले जानकारी दिए ।
‘अगाडिका मन्त्रीले दुई वटा कार्यविधि बनाएर रकम वितरण गर्नुभएको रहेछ’, उनले भने, ‘पहिला जुन अस्पतालमा उपचार भएको छ, सोही अस्पताललाई औषधी उपचार खर्च भनेर ५० हजार भुक्तानी दिएको र पछि फेरि अर्को कार्यविधि बनाएर सो रकम विरामी व्यक्तिलाई नै दिने निर्णय गरेर रकम वितरण गरेको रहेछ । दुवै कार्यविधिलाई मिलाएर कसरी सहज हुन्छ सोही अनुसार नयाँ कार्यविधि बनाएर रकम वितरण गर्ने योजना मन्त्रालयको रहेको छ । र सोही अनुसार काम भईरहेको छ ।’
स्वास्थ्य मन्त्रालय मातहतका धेरै जसो दरवन्दी रिक्त
कोशी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय मातहतका धेरैजसो पद रिक्त रहेको छ । मन्त्रालयले दिएको जानकारी अनुसार प्रमुख मेडिकल सुपरिडेन्टेन्ट ११ तह ५ वटा दरवन्दी नै रिक्त रहेको छ भने कन्सल्टेन्ट, बरिष्ठ कन्सल्टेन्ट अव्सट्रेटिसियन एण्ड गाइनोकोलोजिष्ट ९ र १० तह ६ वटा, ९ र १० तहका नै बरिष्ठ पेडियाट्रिसियन ६ वटा, जनरल फिजिसियन ६ वटा, बरिष्ठ कन्सल्टेन्ट प्याथोजिष्ट १ वटा, बरिष्ठ कन्सल्टेन्ट एनेस्थेसियोलोजिष्ट ५ वटा मा ४ रिक्त रहेको छ ।
मन्त्रालय अन्तर्गतका विभिन्न पदमा ३७१ वटा दरबन्दी खाली रहेको मन्त्रालयले जनाएको छ । दरवन्दी अनुसारको स्वास्थ्यकर्मी नहुदा स्वास्थ्य सेवामा समस्या देखिएको मन्त्री राईले बताए । प्राविधिक दरवन्दीहरु सबै खाली रहेकाले पनि स्वास्थ्य क्षेत्र अस्तव्यस्त रहेको बताउँदै उनले सरकार र प्रदेश लोकसेवा आयोगसँग समन्वय गरेर छिट्टै पदपूर्ति गर्ने तयार मन्त्रालयको रहेको बताए ।