काठमाडौं । विश्व फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता फिफा विश्वकप २०२६ आजबाट उत्तर अमेरिकामा सुरु हुँदैछ । अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गरेको यो विश्वकप इतिहासकै सबैभन्दा ठूलो संस्करणका रूपमा रहेको छ।
यसपटक पहिलो पटक ४८ राष्ट्रले विश्वकपमा सहभागिता जनाउँदै छन् । प्रतियोगितामा कुल १०४ खेल हुनेछन्, जुन अघिल्लो संस्करणको तुलनामा उल्लेखनीय रूपमा बढी हो । सहभागी टोलीहरूलाई १२ समूहमा विभाजन गरिएको छ र प्रत्येक समूहका शीर्ष दुई टोलीसँगै उत्कृष्ट आठ तेस्रो स्थानका टोली नकआउट चरणमा प्रवेश गर्नेछन्।
सन् १९३० मा सुरु भएको विश्वकपको इतिहासमा पहिलो पटक तीन राष्ट्रले संयुक्त रूपमा आयोजना गर्न लागेका हुन् । प्रतियोगिता अमेरिका, मेक्सिको र क्यानडाका १६ शहरमा सञ्चालन हुनेछ ।
साविक विजेता अर्जेन्टिना, उपविजेता फ्रान्स, ब्राजिल, स्पेन, इंग्ल्यान्ड तथा पोर्चुगल उपाधिका प्रमुख दाबेदार मानिएका छन् । यस्तै उज्वेकिस्तान, जोर्डन, केप भर्डे र कुराकाओले पहिलो पटक विश्वकपमा सहभागिता जनाउँदै इतिहास रच्ने अवसर पाएका छन् ।
प्रतियोगिताको विजेताले ट्रफीसँगै आकर्षक नगद पुरस्कार प्राप्त गर्नेछ भने विश्व फुटबलका करोडौं समर्थकको नजर अब आगामी एक महिनाभन्दा बढी समय विश्वकपमै केन्द्रित रहनेछ ।
प्रतिक्रिया दिनुहोस