काठमाडौं । मुक्तिनाथ विकास बैंकले १८ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । बैंकले पुस २९ गते पोखरामा सभा सम्पन्न गरेको हो । बैंकका अध्यक्ष भरतराज ढकालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा गत आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पारित गरेको छ ।
प्रति सेयर १०० का दरले १ अर्ब रुपैयाँको मुक्तिनाथ ८ं.५ प्रतिशत अविमोच्य असञ्चित अग्राधिकार सेयर सम्बन्धित नियमानकारी निकायको स्वीकृति पश्चात जारी गर्ने प्रस्ताव समेत सभाले स्वीकृत गरेको छ ।
यसै सभाबाट आर्थिक वर्ष २०८१/०८२ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका सामान्य प्रस्तावहरु पारित गरेको छ । सभाको अवसरमा बैंक स्थापना गर्न पहल गरेका शुरुका ३० जना संस्थापक सेयरधनीहरु, बैंकको उन्नयनमा अतुलनीय योगदान दिने अन्य संस्थापक सेयरधनीहरु तथा सञ्चालक सदस्यहरुलाई सम्मान गरिएको थियो ।
विशेष प्रस्तावको रुपमा रहेको काठमाडौं–२८, कमलादीमा अवस्थित बैंकको केन्द्रीय कार्यालय नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय भवन लाजिम्पाट काठमाडौंमा स्थानान्तरण गर्ने लगायतका सबै प्रस्तावहरु सर्वसम्मत रुपले पारित भएका छन् ।
साधारण सभाको औपचारिक कार्यक्रमको समुद्घाटन सञ्चालक समितिका अध्यक्ष ढकालले गरेका थिए । सभामा बैंकका सञ्चालक समितिका सदस्य भरतप्रसाद लम्सालले स्वागत मन्तव्य र बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रद्युमन पोखरेलले बैंकको हालको अवस्था र भावी रणनीतिको बारेमा जानकारी गराएका थिए ।
सभामा सञ्चालक समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन उपर विभिन्न सेयरधनीहरुबाट सल्लाह सुझाव र जिज्ञासाहरु प्राप्त भएको थियो । सेयरधनीहरुबाट आएका जिज्ञासाहरु बारेमा अध्यक्ष र सिइओले प्रष्ट पारेका थिए ।