सबैभन्दा धेरै गैर-बैंकिङ सम्पत्ति भएका शीर्ष ५ बैंकहरू:
- हिमालयन बैंक: रु ६ अर्ब २३ करोड ८५ लाख
- ग्लोबल आइएमई बैंक: रु ५ अर्ब ८९ करोड ९१ लाख
- नेपाल इन्भेष्टमेन्ट मेगा बैंक: रु ४ अर्ब ७० करोड ३२ लाख
- प्राइम कमर्सियल बैंक: रु ४ अर्ब ६८ करोड ८४ लाख
- एनआईसी एशिया बैंक: रु ४ अर्ब १७ करोड ७१ लाख
काठमाडौँ । वाणिज्य बैंकहरूको गैर-बैंकिङ सम्पत्तिमा उल्लेख्य वृद्धि भएको छ। कर्जा असुली हुन नसकेर धितो लिलामीमा बिक्री नभएपछि बैंकहरूले आफ्नै नाममा सकार्नुपर्ने यस्तो सम्पत्ति चालु आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्म १८.८१ प्रतिशतले बढेको हो।
नेपाल राष्ट्र बैंकबाट प्रकाशित विवरणअनुसार, गत आर्थिक वर्ष २०८१/८२ को जेठ मसान्तसम्म वाणिज्य बैंकहरूको कुल गैर-बैंकिङ सम्पत्ति ३८ अर्ब ७९ करोड ११ लाख रुपैयाँ रहेकोमा चालु आर्थिक वर्षको सोही अवधिसम्म बढेर ४६ अर्ब ८ करोड ७८ लाख रुपैयाँ पुगेको छ।
गैर-बैंकिङ सम्पत्तिको आकारका आधारमा हिमालयन बैंक शीर्ष स्थानमा रहेको छ। बैंकको यस्तो सम्पत्ति १७.२९ प्रतिशतले बढेर ६ अर्ब २३ करोड ८५ लाख रुपैयाँ पुगेको छ।
दोस्रो स्थानमा रहेको ग्लोबल आइएमई बैंकको गैर-बैंकिङ सम्पत्ति भने ०.७७ प्रतिशतले घटेर ५ अर्ब ८९ करोड ९१ लाख रुपैयाँमा झरेको छ।
गैर-बैंकिङ सम्पत्तिका आधारमा सबैभन्दा बढी सम्पत्ति भएका पाँच बैंकमा हिमालयन बैंक, ग्लोबल आइएमई बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्राइम कमर्सियल बैंक र एनआईसी एशिया बैंक रहेका छन्।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको यस्तो सम्पत्ति ४७.९९ प्रतिशतले बढेर ४ अर्ब ७० करोड ३२ लाख रुपैयाँ पुगेको छ भने प्राइम कमर्सियल बैंकको १०७.२९ प्रतिशतले बढेर ४ अर्ब ६८ करोड ८४ लाख रुपैयाँ पुगेको छ। एनआईसी एशिया बैंकको गैर-बैंकिङ सम्पत्ति भने १०.५३ प्रतिशतले घटेर ४ अर्ब १७ करोड ७१ लाख रुपैयाँमा सीमित भएको छ।
तथ्याङ्कअनुसार गैर-बैंकिङ सम्पत्तिमा सबैभन्दा ठूलो वृद्धि प्राइम कमर्सियल बैंकमा देखिएको छ। गत वर्षको जेठ मसान्तमा २ अर्ब २६ करोड ९१ लाख रुपैयाँ रहेको यस्तो सम्पत्ति चालु वर्षको सोही अवधिमा १०७.२९ प्रतिशतले बढेर ४ अर्ब ६८ करोड ८४ लाख रुपैयाँ पुगेको हो।
त्यस्तै, एनएमबि बैंकको गैर-बैंकिङ सम्पत्ति ५४ प्रतिशत, प्रभु बैंकको ५५.०१ प्रतिशत, सिटिजन्स बैंकको ५५.०१ प्रतिशत र सानिमा बैंकको ५३.३८ प्रतिशतले बढेको छ।
यता, माछापुच्छ्रे बैंकले गैर-बैंकिङ सम्पत्ति घटाउन सबैभन्दा बढी सफलता हासिल गरेको छ। बैंकको यस्तो सम्पत्ति ३२.७९ प्रतिशतले घटेर गत वर्षको ९६ करोड ७९ लाख रुपैयाँबाट ६५ करोड ९ लाख रुपैयाँमा झरेको छ।
त्यस्तै, एभरेस्ट बैंकको गैर-बैंकिङ सम्पत्ति १७.४२ प्रतिशत, नबिल बैंकको १०.९१ प्रतिशत, एनआईसी एशिया बैंकको १०.५३ प्रतिशत र कुमारी बैंकको ३.१२ प्रतिशतले घटेको छ।
नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकको गैर-बैंकिङ सम्पत्ति न्यून
गैर-बैंकिङ सम्पत्तिको आकारका आधारमा नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंक सबैभन्दा कम हुने बैंकमा परेका छन्। नेपाल बैंकको यस्तो सम्पत्ति २३ करोड ३६ लाख रुपैयाँ रहेको छ भने राष्ट्रिय वाणिज्य बैंकको ३१ करोड ४४ लाख रुपैयाँ छ। त्यस्तै, एभरेस्ट बैंकको गैर-बैंकिङ सम्पत्ति ५१ करोड ५८ लाख रुपैयाँ रहेको छ।
कर्जा असुलीमा समस्या आएर धितो लिलामीमा बिक्री हुन नसक्दा बैंकहरूले उक्त सम्पत्ति आफ्नै नाममा सकार्नुपर्ने हुन्छ। यसरी बैंकको स्वामित्वमा आउने सम्पत्तिलाई गैर-बैंकिङ सम्पत्ति भनिन्छ।
गैर-बैंकिङ सम्पत्तिमा भएको वृद्धिले बैंकिङ प्रणालीमा कर्जा असुलीको चुनौती कायमै रहेको संकेत गर्छ। यस्तो सम्पत्ति लामो समयसम्म बिक्री हुन नसकेमा बैंकहरूको पूँजी तथा तरलता व्यवस्थापनमा समेत दबाब पर्न सक्छ।
प्रतिक्रिया दिनुहोस