काठमाडौँ । एनआईसी एसिया बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशनकुमार न्यौपानेसहितको लगानीमा रुपन्देहीमा करिब ११ अर्ब रुपैयाँ लागतको ‘लुम्बिनी म्यारियट रिसोर्ट एन्ड स्पा’ निर्माण भइरहेको छ।
रिसोर्ट निर्माण गरिरहेको लुम्बिनी प्यालेस रिसोर्ट लिमिटेड (एलपीआर) ले बैंकबाट लिने करिब ५ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋण सुविधा लिदैँछ । यसका लागि इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेड (इन्फोमेरिक्स नेपाल) बाट नयाँ क्रेडिट रेटिङ प्राप्त गरेको छ।
इन्फोमेरिक्स नेपालले कम्पनीको ५ अर्ब २९ करोड २९ लाख ९० हजार रुपैयाँ बराबरको दीर्घकालीन बैंक सुविधालाई ‘IRN BB’ र २० करोड ३९ लाख ४० हजार रुपैयाँ बराबरको अल्पकालीन बैंक सुविधालाई ‘IRN A4’ रेटिङ दिएको हो।
रेटिङ एजेन्सीका अनुसार रिसोर्टको नेतृत्व अनुभवी सञ्चालक समिति र व्यवस्थापनले गरिरहेको छ। सञ्चालक समितिको अध्यक्षमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघका पूर्वअध्यक्ष सिए दीपक पाण्डे रहेका छन्। सञ्चालक समितिमा बैंकिङ क्षेत्रका अनुभवी पूर्वसीईओ सिए रोशनकुमार न्यौपानेसहित बिमा तथा कर्पोरेट क्षेत्रमा लामो अनुभव हासिल गरेका व्यक्तिहरू सहभागी छन्।
रिसोर्टले विश्वकै चर्चित होटल सञ्जाल म्यारियट इन्टरनेसनलसँग दीर्घकालीन होटल व्यवस्थापन सम्झौता (एचएमए) गरिसकेको छ। म्यारियटको अन्तर्राष्ट्रिय ब्रान्ड, व्यवस्थापन अनुभव र विश्वव्यापी बिक्री तथा वितरण सञ्जालले रिसोर्टको व्यवसायिक सम्भावना बढाउने अपेक्षा गरिएको छ।
रुपन्देहीको सियारी गाउँपालिकामा निर्माणाधीन रिसोर्ट लुम्बिनी, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तथा नेपाल–भारत सीमा नाका सुनौलीको नजिक अवस्थित छ। यसका कारण धार्मिक, सांस्कृतिक तथा अन्तर्राष्ट्रिय पर्यटकलाई लक्षित गर्ने ठूलो सम्भावना रहेको कम्पनीको विश्वास छ।
सेयर पूँजी वृद्धिले वित्तीय अवस्था बलियो
कम्पनीमा सेयर पूँजी थपिँदै गएपछि यसको वित्तीय अवस्था क्रमशः बलियो बन्दै गएको रेटिङ प्रतिवेदनमा उल्लेख छ। कम्पनीको कर्जा तथा खुद सम्पत्तिबीचको अनुपात (ओभरअल गियरिङ रेसियो) आर्थिक वर्ष २०७९/८० मा ३.८४ गुणा रहेकोमा २०८२ जेठसम्म आइपुग्दा घटेर ०.२५ गुणामा झरेको छ।
कम्पनीको सञ्चालन आम्दानीमा पनि सुधार देखिएको छ। आव २०७८/७९ मा ७ करोड २० लाख रुपैयाँ रहेको कुल सञ्चालन आम्दानी आव २०८१/८२ सम्म आइपुग्दा १४ करोड १० लाख रुपैयाँ पुगेको छ। यो अवधिमा आम्दानी वार्षिक औसत करिब २२ प्रतिशतले बढेको हो। चालु आर्थिक वर्षको १० महिना अर्थात् २०८२ जेठ मसान्तसम्ममा कम्पनीको सञ्चालन आम्दानी १४ करोड ५० लाख रुपैयाँ पुगिसकेको छ।
कुल १० अर्ब ९९ करोड ७० लाख रुपैयाँ अनुमानित लागत रहेको रिसोर्ट आयोजनाको २०८२ जेठ मसान्तसम्म ४५ प्रतिशत भौतिक र ३५ प्रतिशत वित्तीय प्रगति भएको छ।
तर, आयोजनाका लागि आवश्यक सम्पूर्ण ऋणको वित्तीय समापन (फाइनान्सियल क्लोजर) अझै हुन बाँकी रहेकाले थप लगानी जुटाउने चुनौती कायमै रहेको इन्फोमेरिक्सले औँल्याएको छ।
कम्पनीले पहिलो चरणमा २०० कोठासहितको रिसोर्ट निर्माण पूरा गरी सन् २०२७ जनवरीदेखि पूर्ण व्यावसायिक सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ। समग्र आयोजनाअन्तर्गत भने कुल ४५० कोठा निर्माण गर्ने र आर्थिक वर्ष २०८६/८७ सम्ममा आयोजना पूर्ण रूपमा सम्पन्न गर्ने लक्ष्य छ।
बढ्दो प्रतिस्पर्धा र सञ्चालन जोखिम
नेपालको आतिथ्य क्षेत्रमा पछिल्लो समय बढ्दै गएको प्रतिस्पर्धा रिसोर्टका लागि प्रमुख चुनौती बन्न सक्ने रेटिङ एजेन्सीको विश्लेषण छ। त्यस्तै, पर्यटन व्यवसायमा देखिने मौसमी प्रभाव, लामो ‘गेस्टेसन पिरियड’ र लगानीको प्रतिफल प्राप्त हुन लाग्ने समयका कारण रिसोर्टको अकुपेन्सी तथा नाफामा दबाब पर्न सक्ने जोखिम पनि औँल्याइएको छ।
यद्यपि, लुम्बिनीको बढ्दो पर्यटकीय सम्भावना, अन्तर्राष्ट्रिय विमानस्थलको निकटता, भारतसँगको सीमावर्ती बजार र म्यारियटको अन्तर्राष्ट्रिय ब्रान्डका कारण रिसोर्टको दीर्घकालीन व्यवसायिक सम्भावना बलियो रहेको देखिन्छ।
५ अर्ब ५० करोडको ऋण सुविधा
कम्पनीले हाल उपयोग गरिरहेको ७५ करोड रुपैयाँ र प्रस्तावित ४ अर्ब ५४ करोड २९ लाख रुपैयाँ गरी कुल ५ अर्ब २९ करोड २९ लाख रुपैयाँको टर्म लोनका लागि ‘IRN BB’ रेटिङ पाएको छ।
त्यस्तै, हाल उपयोग गरिरहेको १० करोड ३९ लाख रुपैयाँ र प्रस्तावित १० करोड रुपैयाँ गरी कुल २० करोड ३९ लाख रुपैयाँको वर्किङ क्यापिटल लोनका लागि ‘IRN A4’ रेटिङ प्राप्त गरेको छ।
सन् २०१८ डिसेम्बर २४ मा प्राइभेट लिमिटेडका रूपमा स्थापना भएको कम्पनी २०२५ डिसेम्बर ८ मा पब्लिक लिमिटेडमा रूपान्तरण भएको हो। कम्पनीमा टेरास इन्क कम्पनी प्राइभेट लिमिटेडको १२.१५ प्रतिशत सेयर स्वामित्व रहेको छ।
प्रतिक्रिया दिनुहोस