२०८३, आषाढ १२ गते

शुक्रवार, आषाढ १२ गते २०८३

संस्कृति र सम्पदाको अनुसन्धान बढाइनुपर्छ : मन्त्री पाण्डे

सोमवार , माघ २१, २०८१

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले संस्कृति र सम्पदाको अध्ययन एवं अनुसन्धानमा बढवा दिनुपर्ने बताएका छन् ।

सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालले आज यहाँ आयोजना गरेको प्रा डा सोमप्रसाद खतिवडाद्वारा लिखित ‘हनुमानढोका दरबार क्षेत्रका मूर्त सांस्कृतिक सम्पदा’ नामक पुस्तकको विमोचन गर्दै उनले संस्कृति र सम्पदा क्षेत्र अध्ययन तथा अनुसन्धानका आधारमा नभई लहडका आधारमा निष्कर्ष निकालिने गरेकाले समस्या आउने गरेको बताए ।

नेपालका विविध संस्कृति, प्रकृति र सम्पदा खुला सङ्ग्रहालयका रूपमा रहेको मन्त्री पाण्डेको भनाइ छ । नेपाल विविध संस्कृति, प्रकृति र सम्पदाको खुला सङ्ग्रहालयका रूपमा रहेको उनले बताए ।

सम्पदा महत्त्वपूर्ण पुँजीका रूपमा रहेको उल्लेख गर्दै मन्त्री पाण्डेले जल, जङ्गल र जडीबुटीजस्ता जैविक सम्पदाको संरक्षणको आवश्यकता औँल्याए । प्राकृतिक सम्पदा जोगाउनका लागि प्राज्ञिक रूपमा बहस र छलफल हुनुपर्नेमा पनि उनले जोड दिए ।

“सम्पदाको अध्ययन, अन्वेषण हुँदा तथ्य र तथ्याङ्कमा आधारित भई वैज्ञानिक रूपमा पुष्टि हुनेगरी निष्कर्षमा पुग्नुपर्छ, हनुमानढोका दरबार क्षेत्रको मूर्त सांस्कृतिक सम्पदा नामक पुस्तकले अनुसन्धात्मक तरिकाले विराट र विशाल रूप बढाएको छ”, मन्त्री पाण्डेले भने ।

पुस्तकका लेखक प्रा डा सोमप्रसाद खतिवडाले हनुमानढोका दरबार सङ्ग्रहालयको भ्रमण गरेपछि यससम्बन्धी पुस्तक लेख्ने सोच आएको बताए । मूर्त सम्पदाका विषयवस्तु मात्र पुस्तकमा उल्लेख गरिएको जानकारी पनि उनले गराए ।

दरबारभित्रका ११ वटा मन्दिर र दरबार बाहिरका १९ गरी ३० वटा मठमन्दिरका बारेमा पुस्तकमा उल्लेख गरिएको जानकारी पनि लेखक खतिवडाले गराए । ती मन्दिरका कला, वास्तुकलाका बारेमा पनि पुस्तकमा विषयवस्तु समावेश गरिएको छ ।

“मोहनकाली चोकको ढुङ्गेधारामा ८०/९० वटा मूर्ति रहेको छ, भित्र सुन्धारामा पनि त्यस्तै दुर्लभ मूर्ति छन्, कालीय दमन मूर्ति यहीँ छ, लिच्छविकालको जलासन्ध विष्णुको मूर्ति यहीँ छ, पञ्चबुद्ध शिवको मूर्ति यहीँ छ, यहाँका चित्रलगायत विषय पनि पुस्तकमा समावेश गरिएको छ”, उनले भने ।

हनुमानढोका दरबार हेरचाह अड्डाले प्रकाशन गरेका चित्रका बारेमा पनि पुस्तकमा उल्लेख गरिएको छ । पहिले हुने कतिपय जात्रा, पर्व यहाँ हुन छोडेको पनि कार्यक्रममा प्रा डा खतिवडाले सुनाए ।

परिषद्का अध्यक्ष एवं कलाकार बमबहादुर कार्कीले नेपालका महत्त्वपूर्ण संस्कृतिलाई अन्य देशमा पनि प्रचारप्रसार गर्न नेपालबाट प्रतिनिधित्व गर्ने राजदूतलाई यससम्बन्धी जानकारी गराइएको बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट