
गोरखा । गोरखा जिल्लाको पर्यटकीय क्षेत्र बारपाक र लाप्राक जोड्ने सडक स्तरोन्नतिको काममा ढिलाइ भएको छ ।
पूर्वाधार विकास कार्यालय गोरखाले २०७९ जेठसम्ममा सडक स्तरोन्नतिको काम सम्पन्न गर्ने गरी शर्मा र विक्वी जेभीसँग ठेक्का सम्झौता गरेको भए पनि उक्त सडक स्तरोन्नतिको काम अहिलेसम्म ५० प्रतिशतमात्र सम्पन्न भएको कार्यालयले जनाएको छ ।
करिब १३ दशमलव १४ किलोमिटर सडक स्तरोन्नति गर्ने गरी कार्यालयले रु ३४ करोड १५ लाखमा ठेक्का सम्झौता गरेको थियो ।
सम्झौताअनुसार ठेकेदार कम्पनीले सडक ग्राभेल गर्ने, चौडा बढाउने, ग्रेडिङ मिलाउने, नाला बनाउने लगायतको जिम्मेवारी पाएको छ ।
दुर्गम ठाउँ भएको, चिसोको समयमा हिउँ पर्ने, वर्षातका बेला निर्माण सामग्री लैजान समस्या हुने कारण देखाएर ठेकेदार कम्पनीले काम ढिलाइ हुँदै आएको दाबी गरेको छ ।
समयमै सडक स्तरोन्नति नहुँदा अहिले बारपाकबाट लाप्राक, गुम्दा जाने सर्वसाधारणले महँगो भाडा तिरेर जिपमा यात्रा गर्नुपर्ने बाध्यता रहँदै आएको छ ।
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले गुप्सीपाखामा निर्माण गरेको एकीकृत नमूना बस्ती हेर्न पुग्ने आन्तरिक तथा बाह्य पर्यटकसमेत सडक यात्रा सहज नहुँदा बारपाकबाटै फर्कने गरेका छन् ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend