
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको विरोधमा सडकसँगै सामाजिक सञ्जाल पनि तातिएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई हटाउँदै प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्ति गरेपछि अहिले चौतर्फी आलोचना भइरहेको छ ।
यसैबीच विभिन्न कलाकारहरुले पनि सरकारको यो निर्णय गलत भएको भन्दै सामाजिक सञ्जालमा आफ्ना अभव्यक्तिहरु दिएका छन् ।
कलाकार हरिवंश आचार्यले सरकारको निर्णयप्रति असन्तुष्ट जनाउँदै उनी नेपाली कुलकै उज्यालो व्यक्ति भएको उल्लेख गरेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘कुलमान नेपाली कुलकै उज्यालो हुन् । अन्धकार बनाउन हुँदैन थियो ।’
त्यस्तै अभिनेत्री स्वस्तिमा खड्काले फेसबुकमा कुलमानको तस्बिर सेयर गर्दै गणतन्त्र लेखेर असन्तुष्टि जनाएकी छिन् भने हास्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ ले ‘कुलमानलाई भुलमान । सालोलाई पालो ।’ लेखेर झटारो हानेका छन् भने निर्देशक तथा कलाकार निश्चल बस्नेतले लेखेका छन्, ‘अनेक गरेर कुलमानलाई हटाएछन् । सायद भ्रष्टहरुको पतन अब कसैले रोक्न सक्दैन ।’
कलाकार दीपकराज गिरीले फेसबुक स्टोरीमा मौनता लेख्दै कुलमानको तस्बिर सेयर गरेका छन् । कुलमानलाई हटाउने निर्णयप्रति कलाकार मनिषा कोइराला, नीता ढुंगाना, मनोज गजुरेल, गायक शिव परियार लगायतले विरोध जनाएका छन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend