काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले असन्तुष्टिको कारोबार गर्न नहुने बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले असन्तुष्टिको कारोबार नगर्न र असन्तुष्टिलाई उत्तेजनामा लिएर जाने काम नगर्न सचेत गराएका हुन् । उनले राजनीतिक उपलब्धिहरुका सम्बन्धमा आम नागरिकहरुमा सन्तोष रहँदै गर्दा पनि अहिले एउटा ठूलो बेचैनी, असन्तोष रहेको बताए ।
उनले असन्तुष्टि र बेचैनीको मुख्य कारण राजनीतिक अवस्था पछाडि आम नागरिकहरुको अवस्थामा परिवर्तन नआउनु रहेको बताए । उनले असन्तुष्टि र बेचैनीलाई हटाउन जरुरी रहेको उल्लेख गरे । नेपाली काँग्रेस र नेकपा एमाले मिलेर बनेको सरकारको मुख्य विषय पनि असन्तुष्टि र बेचैनी हटाउनु रहेको बताउँदै सरकारले अर्थतन्त्रमा देखिएका समस्या र संकटलाई समाधान गरेर अघि बढ्ने विश्वास व्यक्त गरे ।
उनले भने, ‘नेपाली काँग्रेस पार्टीले के कुरालाई महशुस गरेको छ भने राजनीतिक उपलब्धिहरुका सम्बन्धमा आम नागरिकहरुमा सन्तोष रहँदै गर्दा पनि आजको दिनमा एउटा ठूलो बेचैनी, असन्तोष देखिन्छ । त्यो असन्तुष्टि र बेचैनीको मुख्य कारण भनेको हामीले सिर्जना गर्ने राजनीतिक अवस्था पछाडि आम नागरिकहरुको अवस्थामा जुन बदलाव आउँछ भन्नेकुराको हामीले वार्ता गरेका थियौँ । नागरिकले अपेक्षा गर्नुभएको थियो, तदनुरुप हुन सकिरहेको छैन । त्यसको कारणले गर्दा असन्तुष्टि छ । तर, यो असन्तुष्टिलाई हटाउनुपर्छ भन्ने हामी ठान्दछौँ । असन्तुष्टिको कारोबार गर्ने होइन । असन्तुष्टिलाई उत्तेजनामा लिएर जाने होइन । त्यसलाई सम्बोधन गर्नुपर्छ । बेचैनीलाई हटाउँदै लिएर जानुपर्छ । त्यो बाटोमा अगाडि बढ्नुपर्छ भन्ने हामी ठान्दछौँ । त्यही अनुरुप हामी अब काम गर्न चाहन्छौँ । नेपाली काँग्रेस र नेकपा एमाले मिलेर बनेको सरकारको मुख्य विषय पनि यही नै हो । यसको मुख्य प्राथमिकता पनि यही नै हो । ’
महामन्त्री थापाले नेकपा एमालेसँग भएको सहकार्यअनुसार नै अघि बढ्ने र संघ वा प्रदेश कतैपनि राजनीतिक अस्थिरतामा नलाग्ने स्पष्ट पारे। सरकारमा बस्नका लागि मात्रै नभइ परिणाम दिनेगरी काम गर्न आवश्यक रहेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस