काठमाडौ / सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगमा पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेललाई आज (मंगलबार) काठमाडौँस्थित विशेष अदालतमा उपस्थित गराइने भएको छ ।
सम्पति शुद्धीकरण अनुसन्धान विभाग पुल्चोक मा ल्याएपछि म्याद थपका लागि अदालत लैजाने विभागका सूचना अधिकारी उत्तमकुमार घिमीरेले जानकारी दिए ।
सोमबार सुर्खेतबाट पक्राउ परेका पौडेललाई साँझ बाँकेको नेपालगन्ज पुर्याइएको थियो। त्यहाँबाट सडकमार्ग हुँदै काठमाडौँ ल्याइँदै गरिएको छ । कार्यालय समय भित्रै ल्याएर अदालतबाट म्याद थप्ने तयारी भएको सुरक्षास्रोतले जानकारी दियो ।
सूचना अधिकारी उत्तमकुमार घिमिरेका अनुसार पौडेललाई काठमाडौँ ल्याएपछि पहिला विभागमा उपस्थित गराइनेछ। त्यसपछि म्याद थपका लागि विशेष सरकारी वकिल कार्यालय, माइतीघरमार्फत विशेष अदालतमा पेश गर्ने तयारी गरिएको छ । सुरुमा हाम्रो कार्यालयमा ल्याएपछि अन्य अनुसन्धानको प्रक्रिया अघि बढ्छ सूचना अधिकारी घिमीरेले भने ।
विभागले पौडेलमाथि सम्पत्ति शुद्धीकरण कसुरको अनुसन्धान अघि बढाएको जनाएको छ । पक्राउ गर्नुअघि विभागको टोलीले सोमबार ललितपुरको भैँसेपाटीस्थित उनको निवासमा छापा मारेर केही कागजात तथा विद्युतीय उपकरण नियन्त्रणमा लिएको थियो । अदालतबाट म्याद थप भएपछि पौडेललाई जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा राख्ने तयारी भएको सुरक्षा स्रोतले जानकारी दियो ।
प्रतिक्रिया दिनुहोस