काठमाडौं । राजसंस्था पुनःस्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले राजसंस्था पुनःस्थापना गर्न चाहने शक्तिहरु एकजुट भएको बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित विरोध प्रदर्शनमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले टुटफुटको अवस्थामा रहेका राजावादीहरु आवश्यक पर्दा एकजुट भएर लाग्ने गरेको बताए । उनले राजसंस्थामा आस्था राख्ने सबै शक्तिहरु एकताबद्ध भएर आन्दोलनमा उत्रिएको दाबी गरे ।
उनले राजसंस्था, हिन्दु राष्ट्र तथा बहुदलीय प्रजातन्त्रका लागि सबै शक्तिहरुले आआफ्नो ठाउँबाट लाग्न आह्वान गरे । देशका लागि आवश्यक नभएकाले संघीयता खारेज गर्नुपर्ने उनको भनाइ छ ।
उनले भने, ‘मैले जहिले पनि बोल्दाखेरि पत्रकारहरु सोध्नुहुन्थ्यो तपाईहरु आपसमा मिल्नु भएको छैन, तपाईहरु टुटफुट हुनुहुन्छ । त्यसकारण तपाईहरु कसरी राजा धर्म फर्काएर ल्याउनुहुन्छ भनेर सोध्नु हुन्थ्यो । म जहिले पनि भन्थे हामी राजावादीहरु कहिले पनि टुटफुटमा छैनौँ ।
हामी आवश्यक पर्दाखेरि एक हुन्छौँ भनेको थिएँ त्यसको ज्वलन्त उदाहरण आजको यो समारोह भएको छ । यहाँ विभिन्न पार्टीका विभिन्न संस्थाका साथीहरु करिव हन्ड्रेड पर्सेन्ट साथीहरु यहाँ उपस्थित हुनुहुन्छ । त्यसकारण राजावादीहरु हिन्दुवादीहरु हिन्दु राष्ट्र बनाउने चाहनेहरु हामी सबै एक भएका छौँ ।’
‘म छोटकरीमा तपाईंहरुलाई आग्रह गर्न चाहन्छु कि सबै जनाले आआफ्नो ठाउँबाट राजसंस्थाको पुनरस्थापना, सनातन हिन्दू राष्ट्रको स्थापना, बहुदलीय प्रजातन्त्र र यो घाँडोको रुपमा रहेको संघीयता हटाउनका निम्ति हामी सबै एकजुट भएर लागौँ, एकजुट भएर उठौँ भन्ने मेरो यहाँहरु सबैसँग अनुरोध छ’ उनले भने ।
संयोजक सुवेदीले चैत १५ गतेको घटनामा पक्राउ परेका आफ्ना पार्टीका नेताहरुलाई तत्काल रिहा गर्न सरकारलाई आग्रह गरे ।
उनले सरकारले आन्दोलनरत शिक्षकहरुको मागअनुसार तत्काल शिक्षा ऐन जारी गर्नुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस