काठमाडौं । नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले प्रतिपक्षी दलहरुले शिक्षक आन्दोलनलाई राजनीतिक प्रभावित पार्न खोजेको भन्दै आपत्ति जनाएका छन् ।
मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन्। प्रमुख प्रतिपक्षी दलले शिक्षकहरूसँग जारी वार्ता प्रक्रियालाई प्रभावित पार्ने उद्देश्यले संसदभित्र राजनीति गर्न खोजेको उनको आरोप छ । उनले प्रतिपक्षी दलहरुले आन्दोलनलाई पवित्र पेशागत हितभन्दा बाहिर लगेर राजनीतिक स्वार्थ पूर्तिको औजार बनाउने प्रयास गरिरहेको आरोप लगाए ।
सरकार शिक्षकहरूको जायज माग सम्बोधन गर्न तयार रहेको र शिक्षण गतिविधि नियमित बनाउन सकारात्मक प्रयास भइरहेको उनको दाबी छ ।
उनले भने, ‘शिक्षकहरुसँग बन्दै गएको वार्ताको वातावरण वा निष्कर्षउन्मुख भएको अहिलेको विषयवस्तुलाई फेरि पनि संसदभित्र ल्याएर राजनीति गर्न खोज्ने जुन प्रयत्न उहाँहरु गर्न खोज्दै हुनुहुन्छ त्यसप्रति हामी दुःख व्यक्त गर्न चाहन्छौं । आज मात्र होइन हिजो पनि उहाँहरुले सडक नछोड्न अभिव्यक्ति दिनुभयो । शिक्षक साथिहरुलाई उत्तेजित र उत्प्रेरित गर्नुभयो ।
पवित्र पेशागत हितको लागि आयोजना गरिएको शिक्षक महासंघको आन्दोलनलाई प्रमुख प्रतिपक्षीले राजनीतिक रङ दिनको लागि कयौं पटक मेहेनत गर्यो । गएर नाचगान गर्न थाल्ने, भड्काउने र अहिले संसदमा पनि यही विषय ल्याएर उहाँहरुले अप्ठ्यारो पार्ने र वार्ता निष्कर्षमा नपुगोस् भन्नको लागि उहाँहरुले अभिव्यक्ति दिनुभएको छ । सरकारले राज्यले धान्ने जायज मागहरु पूरा गर्ने वातावरण बनाइ शिक्षकहरुलाई नियमित पठनपाठनमा फर्किने वातावरण बनाउँदैछ ।’
सरकार शिक्षकका जायज मागहरु पूरा गर्न गम्भिर रहेको उल्लेख गर्दै उनले वार्ता प्रक्रियामा व्यवधान नपुर्याउन समेत विपक्षी दलहरुलाई आग्रह गरे ।
शिक्षकका माग सम्बोधनका लागि विपक्षी दलहरूले संसद्मा दर्ता गराएको जरुरी सार्वजनिक महत्वको प्रश्ताव कार्यसूचिमा नराखिएको भन्दै प्रतिपक्षी दलहरुले आपत्ति जनाएका थिए ।
प्रतिक्रिया दिनुहोस