काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ (क्यान) सँगको केन्द्रीय सम्झौता तोडेका छन् । फेसबुकमार्फत लामिछानेले यसपटक क्यानको केन्द्रीय सम्झौतामा समावेश नहुने घोषणा गरेका हुन्।
बुधबार आगामी सिरिजका लागि टोलीलाई क्यानले बिदा गरेको केही समयपछि उनले फेसबुकमा लेख्दै यो निर्णयलाई क्रिकेट वा राष्ट्रबाट टाढा हुने कदम नभई, व्यक्तिगत र पेशागत विकासतर्फको पाइलो भएको बताएका छन् ।
उनले भनेका छन् ‘धेरै सोचविचार पछि मैले नेपाल क्रिकेट संघको केन्द्रीय सम्झौताअन्तर्गत नरहने निर्णय गरेको छु, यो क्रिकेट वा मेरो राष्ट्रबाट एक कदम टाढा छैन, यो व्यक्तिगत र व्यावसायिक रूपमा विकसित गर्नका लागि भएको कदम हो।’
उनले आफूलाई निरन्तर सहयोग गरिरहेको भन्दै क्यानलाई आभार पनि व्यक्त गरेका छन् । उनले आफूले सधैँ जस्तै जोश र समर्पणका साथ देशका लागि खेलिरहने पनि बताएका छन ।
‘म सधैँ जस्तै जोश र समर्पणका साथ नेपालका लागि खेलिरहनेछु । त्यो गर्व र जिम्मेवारी सधैँ मेरो हृदयमा रहनेछ । जीवन विकासशील मार्ग र जिम्मेवारीहरूले भरिएको यात्रा हो, त्यहाँ अझै धेरै अन्वेषण गर्न र धेरै बन्न बाँकी छ । म अगाडिको बाटोको लागि उत्साहित छु ।’
उनले राष्ट्रिय टिमप्रतिको आफ्नो निष्ठा र क्रिकेटप्रतिको प्रेम कहिल्यै कम नहुने स्पष्ट पारेका छन् । उनले कहिलेकाहीं निर्णयहरू अलगिन नभएर अझ मजबुत भएर अघि बढ्न लिइने बताएका छन् । उनले आफ्नो समर्पण र सपना सधैं देश र क्रिकेटसँग जोडिएको पनि स्पष्ट पारेका छन् ।
क्यानले सन्दीपसहित ३३ पुरुष र १९ महिला क्रिकेटरलाई केन्द्रीय सम्झौतामा राखेको थियो । सन्दीप ‘ए’ ग्रेडमा थिए । उनले मासिक एक लाख रुपैयाँ पाउँदै आएका थिए।
प्रतिक्रिया दिनुहोस