२०८३, आषाढ २० गते

शनिवार, आषाढ २० गते २०८३

परीक्षणमै सीमित बागलुङमा प्याराग्लाइडिङ

सोमवार , जेठ ६, २०८२

बागलुङ । बागलुङमा प्याराग्लाइडिङको सम्भावना राम्रो रहेको परीक्षण उडानले पुष्टि गरेको थियो । यहाँका उच्च पहाडको एक दर्जन बढी स्थानबाट विभिन्न समयमा प्याराग्लाइडिङको सफल परीक्षण भइसकेका छन् । बागलुङ महोत्सव र बलेवा महोत्सवमा प्याराग्लाइडिङलाई व्यवसायिकता दिने प्रयास गरिएको थियो ।

सफल परीक्षण भएपनि हालसम्म व्यवासायिक प्याराग्लाइडिङ हुन सकेका छैनन् । गण्डकी प्रदेश सरकारले २०७७ सालमा बलेवामा प्याराग्लाइडिङका लागि पूर्वाधार समेत निर्माण गरेको थियो । तर, त्यो प्रयोग विहीन भएको छ ।

यहाँका बागलुङ नगरपालिका–६ भरिलाखुरी, बागलुङ नगरपालिका–१३ पहरेडाँडा, ढोरपाटन नगरपालिका–९ ढोरपाटन उपत्यका, गलकोट नगरपालिका–७ राम्चेढुङ्गालगायतका स्थानबाट विभिन्न समयमा परीक्षण उडान भइसकेका छन् ।

बलेवामा प्याराग्लाइडिङका लागि पोखराको सराङ्कोटको विकल्पमा बनाइएका पूर्वाधार पाँच वर्षदेखि प्रयोग विहीन छ । गण्डकी प्रदेश सरकारले २०७७ सालमा २० लाख रुपैयाँ खर्चेर बलेवाको पहरेडाँडामा विभिन्न संरचना बनाएपनि प्रयोगमा ल्याउन नसकिएको बागलुङ नगरपालिका–१३ का वडा अध्यक्ष नारायण शर्मा पौडेलले जानकारी दिए ।

“पाँच वर्षअघि बलेवामा प्याराग्लाइडिङ हुने भएपछि निकै उत्साहित थियौँ, २०७५ सालको बलेवा महोत्सवमा उडान भरेको स्थान उपयुक्त भएको प्यारापाइलटले जनाएपछि पहरेडाँडामा प्याराग्लाइडिङका लािग मैदान, विश्रामस्थल भवन र शौचालय तयार गरेपनि प्रयोगमा आएको छैन,” वडा अध्यक्ष शर्माले भने, “पूर्वाधार बन्यो, व्यावसायिक उडान हुन सकेन, अहिले पोखराको प्याराग्लाइडिङ व्यवसाय धरापमा परेपछि झनै आश मर्यो ।”

प्रदेश सरकारले बागलुङको बलेवा, पर्वतको बिहादी, लमजुङको राइनासकोट, स्याङ्जाको न्यौपानेडाँडा र कास्कीको अर्मलालाई प्याराग्लाइडिङको विकल्पका रूपमा राखेर पूर्वाधार निर्माण गर्न बजेट विनियोजन गरेको थियो ।

साहसिक पर्यटनका पूर्वाधारसमेत बलेवामा रहेकाले यहाँ प्याराग्लाइडिङको सम्भावना प्रचुर भएपनि व्यवसायिकता पाउन सडक पूर्वाधारलगायतलाई प्राथमिकता दिनुपर्ने स्थानीयको भनाइ छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट