ब्राजिल । नेपाल ब्राजिल उद्योग वाणिज्य संघ (एनबिसिसिआई) का अध्यक्ष अखिल चापागाईंको नेतृत्वमा एक व्यापारिक प्रतिनिधिमण्डल हाल ब्राजिलको भ्रमणमा रहेको छ। भ्रमणमा रहेको प्रतिनिधिमण्डलले ब्राजिलसँग व्यापार, लगानी र आपसी हितका विषयमा छलफल तथा सहकार्यका सम्भावनाहरूको खोजी गरिरहेको छ।
आज बिहान प्रतिनिधिमण्डलले ब्राजिलको राष्ट्रिय उद्योग परसंघ (सिएनआई) का अधिकारीहरूसँग भेटवार्ता गर्दै दुईदेशीय व्यापारिक सम्भावनाबारे विस्तृत छलफल गरेको थियो। उक्त अवसरमा अध्यक्ष चापागाईंले नेपालको व्यापार र लगानी वातावरणबारे जानकारी गराउँदै नेपाली व्यवसायिक समुदाय ब्राजिललाई नेपालमा स्वागत गर्न पूर्णतः तयार रहेको उल्लेख गरे।
भेटघाटको क्रममा नेपालका लागि ब्राजिलस्थित राजदूत निर्मलराज काफ्लेले नेपालको लगानीमैत्री नीति र व्यवसाय प्रवर्द्धनका लागि प्रदान गरिने सुविधाहरूका बारेमा प्रकाश पारे।
सिएनआइका अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख फेड्रिको लामेगोले नेपाली प्रतिनिधिमण्डललाई हार्दिक स्वागत गर्दै ब्राजिल र नेपालको व्यवसायिक समुदायबीच सहकार्य गर्न आफूहरू तयार रहेको बताउँदै भविष्यमा पनि यस्ता प्रतिनिधिमण्डलहरूको स्वागत गर्ने अपेक्षा व्यक्त गरे। दुई पक्षले आगामी दिनमा निरन्तर सम्पर्कमा रहँदै व्यापारिक सहकार्यलाई अझ सशक्त बनाउने सहमति जनाए।
प्रतिनिधिमण्डलले ब्राजिलको व्यावसायिक तथा व्यापारिक संघहरूको महासंघ (सिएसिबि) को समेत भ्रमण गरेको थियो। महासंघका सुपरिन्टेन्डेन्ट कार्लोस रेजेन्डे र संस्थागत परामर्शदाता मोनिका मोंतेइरोले नेपाली प्रतिनिधिमण्डललाई स्वागत गरेकी थिए। उक्त भेटमा ब्राजिलको विदेश मन्त्रालयका मिनिस्टर काउन्सिलर आल्मिर नासिमेन्तोको उपस्थिति थियो।

भेटको क्रममा महासंघलेले आफ्नो संस्थागत संरचना र प्राथमिकताहरूको जानकारी गराउँदै इच्छुक नेपाली व्यवसायिक प्रतिनिधिमण्डलहरूसँग सहकार्य गर्न प्रतिबद्धता व्यक्त गरेको थियो ।
वाणिज्य संघका अध्यक्ष चापागाईंले नेपालमा उपलब्ध व्यापारिक अवसरहरूको बारेमा जानकारी गराउँदै ब्राजिलेली व्यवसायिक समुदायसँग सहकार्य गर्न नेपाली व्यवसायिक जगत पूर्णतः इच्छुक रहेको बताए। राजदूत काफ्लेले नेपालको अनुकूल व्यवसायिक वातावरणबारे चर्चा गर्दै महासंघ र वाणिज्य संघ बीचको संस्थागत सम्बन्धले दुई देशबीचको साझेदारीलाई अझ बलियो बनाउने विश्वास व्यक्त गरे।
दुबै पक्षले भविष्यमा आफ्ना व्यवसायिक संस्थाहरूको माध्यमबाट आवश्यक जानकारी र अवसरहरूको आदानप्रदान गर्दै सहकार्यलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
प्रतिक्रिया दिनुहोस