२०८३, आषाढ २० गते

शनिवार, आषाढ २० गते २०८३

हेलम्बुका गुम्बाहरूको पुन:निर्माण अन्तिम चरणमा

बिहिवार , जेठ ९, २०८२

श्याम रोक्का

हेलम्बु। सिन्धुपाल्चोकमा निर्माण भएर अन्तिम चरणमा पुगेका गुम्बाहरुको लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमेछिरिङ), सहितको टोलीले निरिक्षण गरेका छन् ।

गत सोमबार र मंगलबार उपाध्यक्ष लामासहित भारतीय दूतावासका प्रतिनिधि नारायण सिंह, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रतिनिधिले गुम्बाको निरिक्षण गरेका हुन् ।

भारत सरकारको सहयोग तथा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण राष्ट्रियस्तरको भवन निर्माण एकाइले आज भन्दा पाँच वर्ष अघि १४ अक्टोबर २०२० मा ठेक्का आह्वान गरेर गुम्बाहरुको पुनर्निर्माण कार्यको सुरुवात गरेको थियो ।

गुम्बा पुनर्निर्माणका लागि भारत सरकारले प्रत्येक गुम्बालाई १० करोडभन्दा बढी रकम विनियोजन गरेको भएपनि नेपाल सरकारले ठेक्का आह्वान गर्दा घटेर चिरी गुम्बा ६ करोड ४५ लाख, शेर्माथाङ गुम्बा पाँच करोड ५० लाख र  तार्के घ्याङ गुम्बा करिब सात करोडमा ठेक्का सम्झौता भएको थियो।

हाल हेलम्बु गाउँपालिकाको चिरी गुम्बा, तार्के घ्याङ गुम्बा र शेर्माथाङ लगायत सिन्धुपाल्चोकका तीन पौराणिक गुम्बाको निर्माण कार्य अन्तिम चरणमा पुगेका छन् ।

व्यवस्थापन समितिका अध्यक्ष सितार लामाको अनुसार, 'चिरी गुम्बामा गजुर राख्ने, गुम्बाभित्र मूर्ति प्रतिस्थापन गर्ने र फिनिसिङ, पेन्टिङ र विभिन्न कलाकृतिको काम सम्पन्न भएर निर्माण कार्यको अन्तिम चरणमा रहेको छ।'

चिरी गुम्बा निर्माण सम्पन्न भए पछि झन्डै १५८ घरधुरी (जजमान) सहभागी भएर वार्षिक झन्डै आधा दर्जन भन्दा बढी लामो तथा छोटो अवधिको नियमित पूजा सम्पन्न गर्ने स्थानीयले बताए ।

त्यस्तै करिब सात करोडमा ठेक्का सम्झौता भए अनुसार निर्माण कार्यको अन्तिम चरण रहेको तार्केघ्याङ गुम्बाका प्रमुख कृसङ्ग लामाले बताए । उनका अनुसार तार्केघ्याङ गुम्बाको प्राङ्गण निर्माण र केही आर्टको काम ठेक्का सम्झौतामा छुट भएको कारण केही ढिला भए पनि लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमेछिरिङ्ग) को पहलले केही चन्दा संकलन भएको र भारत सरकारको सहयोग हुने प्रतिबद्धता प्राप्त भएको कारण बाँकी काम केही दिनमै सम्पन्न हुनेछ ।

त्यस्तै शेर्माथाङ गुम्बा निर्माणमा पाँच करोड ५० लाख सम्झौता भए अनुसार सबै निर्माणको अन्तिम चरणमा रहेको शेर्माथाङ गुम्बाका प्रमुख सार्की लामाले बताए । उनका अनुसार हेलम्बुमा पुनर्निर्माण भइरहेका ऐतिहासिक गुम्बा पाँच सय वर्षसम्मका पुराना हुन्। यी गुम्बा पुरातत्व विभागले दिएको डिजाइन अनुसार प्राचीन शैलिमानै पुनःनिर्माण भएको छ। अग्राख काठ, चुनासुर्की र ढुंगामाटो प्रयोग बनाइएको गुम्बा भुकम्प प्रतिरोधात्मक हो ।

हाल हेलम्बुका गुम्बाहरुमा साना तथा ठूला गरी पुरातात्त्विक दर्जनौँ बुद्धको मूर्ति रहेका छन् । भूकम्पले गुम्बा ढलेपछि मूर्ति तथा महत्वपूर्ण सामग्रीसहितको धार्मिक ग्रन्थहरु टहरामा राखिएका छन् । गुम्बाहरुको पुनः निर्माणले हेलम्बुका स्थानीयहरु खुसी भएका छन् भने पर्यटकहरु उत्साहित भएका छन् ।

०७२ सालको महाभूकम्पबाट पूर्ण रूपमा भत्किएपछि पर्यटकीय महत्व बोकेका बहुमूल्य गुम्बाहरु निर्माण नहुँदा त्यहाँका स्थानीयहरुले त्यसको प्रत्येक असर भोग्नु परेको थियो ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट