काठमाडौं । नेपाल सरकारकी वन तथा वातावरण राज्यमन्त्री रुपा विश्वकर्माले ताजिकिस्तानको दुशान्बेमा आयोजित “हिमनदी संरक्षण सम्बन्धी उच्चस्तरीय अन्तर्राष्ट्रिय सम्मेलन” मा नेपालको तर्फबाट सम्बोधन गर्दै जलवायु परिवर्तनका कारण हिमनदीहरूमा आइरहेको गम्भीर संकटबारे विश्व समुदायको ध्यानाकर्षण गराएकी छन्।
सम्मेलनमा ताजिकी प्रधानमन्त्री, विभिन्न राष्ट्रका प्रतिनिधिहरू र अन्तर्राष्ट्रिय संगठनहरूका प्रतिनिधिहरूको उपस्थितिमा राज्यमन्त्री वि.क. ले हिमालय क्षेत्रको बदलिँदो पर्यावरणीय अवस्थालाई विश्वस्तरको साझा चुनौतीको रूपमा प्रस्तुत गरिन्।
उनले भनिन्, “विश्वभरिका हिमनदीहरू पग्लिँदै छन्, र यो अब भावी पुस्ताको चिन्ता मात्र होइन, हाम्रो पुस्ताकै संकट हो। हिमालयमा एक तिहाइ बरफ भण्डार गुमिसकेको छ, र हालको प्रवृत्ति यथावत रहेमा यो शताब्दीको अन्त्यसम्म दुई तिहाइ ग्लेसियर हराउने छन्।”
राज्यमन्त्री वि.क. ले नेपालले हालै काठमाडौंमा आयोजना गरेको सगरमाथा संवाद २०२५ को सन्दर्भमा ‘सगरमाथा कल फर एक्सन’ सार्वजनिक गरिएको उल्लेख गर्दै उक्त घोषणालाई जलवायु न्याय, अन्तर्राष्ट्रिय ऐक्यबद्धता र तत्कालीन कार्यको खाका भएको बताइन्।

उक्त घोषणामा समेटिएका प्रमुख सात मागहरूमा विश्व तापमान वृद्धिलाई १.५ डिग्री सेल्सियसभित्र सीमित राख्ने, पर्वतीय क्षेत्रलाई विशेष प्राथमिकतामा राख्ने, जलवायु वित्तमा निष्पक्ष पहुँच सुनिश्चित गर्ने, प्रविधि हस्तान्तरण र क्षमता अभिवृद्धि गर्नुपर्ने, पर्वतीय मुद्दालाई युएनएफसीसीसी अन्तर्गत अलग पहिचान दिनुपर्ने, सिमा पार सहकार्य प्रवर्द्धन गर्ने, र जलवायु न्यायलाई व्यवहारमा उतार्ने विषयहरू उल्लेख गरिएका छन्।
उनले थप भनिन्, “पर्वतीय राष्ट्रहरूका लागि जलवायु वित्त कुनै अनुदान होइन — यो त उनीहरूको अधिकार हो, न्यायमा आधारित दायित्व हो।”
कोप२९ सम्मेलनमा घोषणा गरिएको वार्षिक ३०० अर्ब अमेरिकी डलरको जलवायु वित्तीय प्रतिबद्धतालाई व्यवहारमा उतार्न अब ढिलाइ गर्न नहुने चेतावनी दिँदै उनले पर्वतीय आवाजहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा अझ प्रभावकारी रूपमा प्रस्तुत गर्न आग्रह गरिन्।
सम्बोधनको अन्त्यमा उनले नेपालको प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै भनिन्, “पहाडहरू टाढा लाग्न सक्छन्, तर तिनको सासले आधा संसारलाई जीवन दिन्छ।”

दुशान्बे सम्मेलनमा गरिएको तिनको सम्बोधनले नेपालको तर्फबाट जलवायु परिवर्तनको विषयमा अन्तर्राष्ट्रिय जगतमा आवाज बुलन्द गरिनुका साथै हिमनदी संरक्षणप्रति विश्वलाई सचेत गराउने उल्लेखनीय प्रयास भएको विज्ञहरूले बताएका छन्।
प्रतिक्रिया दिनुहोस