२०८३, आषाढ २० गते

शनिवार, आषाढ २० गते २०८३

परराष्ट्रमन्त्री डा राणा हङकङबाट स्वदेश फिर्ता

आइतवार , जेठ १९, २०८२

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा जनवादी गणतन्त्र चीनको विशेष प्रशासकीय क्षेत्र हङकङमा चीन सरकारद्वारा यही जेठ १६ गते आयोजित अन्तरराष्ट्रिय मध्यस्थता सङ्गठन स्थापना गर्ने महासन्धिको हस्ताक्षर समारोहमा सहभागी भएर गए राति स्वदेश फर्किएकी छन् ।

चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा सो समारोहमा सहभागी हुन मन्त्री डा राणा गत बुधबार हङकङ प्रस्थान गरेकी थिइन् । नेपाल सो सङ्गठन स्थापना गर्नेसम्बन्धी महासन्धिको हस्ताक्षर कार्यक्रममा पर्यवेक्षकका रूपमा सहभागी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उक्त महासन्धिमा ३२ मुलुकले हस्ताक्षर गरेका थिए भने हस्ताक्षर गर्ने सो समारोहमा ५० भन्दा बढी मुलुक र २० भन्दा बढी अन्तरराष्ट्रिय सङ्घसङ्गठन सहभागी भएका थिए । उक्त सङ्गठनले विभिन्न देशबीच, एक देश र अर्को देशको कम्पनी वा नागरिकबीच एवं विभिन्न मुलुकका निजी व्यवसायहरूबीचका विवादलाई मध्यस्थताद्वारा समाधान गर्ने उद्देश्य लिएको छ ।

यसै कार्यक्रमका सिलसिलामा मन्त्री डा राणाले चिनियाँ विदेशमन्त्री वाङ यीसँग द्विपक्षीय भेटवार्ता गरेकी थिइन् । उक्त भेटका अवसरमा नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्ध अझ सुदृढ गर्दै जाने विषयमा कुराकानी भएको जानकारी मन्त्री डा राणाले दिइन् ।

उनले भेटघाटमा नेपाल र चीनबीच आर्थिक, प्राविधिक तथा व्यावसायिक सम्बन्ध विस्तार गर्ने तथा चिनियाँ सहयोगमा नेपालमा निर्माणाधीन परियोजनाहरू समयमै सम्पन्न गर्ने विषयमा कुराकानी भएको बताइन् ।

मन्त्री डा राणाले भनिन्, “यस वर्ष अर्थात् सन् २०२५ नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठ परेकाले यस अवसरलाई विशेष कार्यक्रमहरूसहित मनाउने र दुई मुलुकबीच उच्चस्तरीय भ्रमणहरू आदानप्रदान गर्ने कार्यलाई निरन्तरता दिने विषयमा पनि कुराकानी भएको छ ।”

मन्त्री डा राणाले नेतृत्व गरेको यस नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयको उत्तरपूर्व एसिया महाशाखाका प्रमुख भृगु ढुङ्गाना र हङकङस्थित नेपालका महावाणिज्यदूत डा विन्देश्वरप्रसाद लेखकलगायत परराष्ट्र मन्त्रालय र महावाणिज्य दूतावास हङकङका प्रतिनिधि सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट