काठमाडौं । आन्दोलनरत संयुक्त जनआन्दोलन समितिले काठमाडौं उपत्यका बन्दको कार्यक्रम फिर्ता लिएको छ ।
राजसंस्था र हिन्दु राज्य पुनर्स्थापनाको मागसहित आन्दोलनरत आज जेठ १९ गते काठमाडौं उपत्यका बन्दको घोषणा गरेको थियो । तर, समितिले प्रेस विज्ञप्ति जारी गर्दै आज गर्ने भनिएको बन्दको कार्यक्रम फिर्ता लिएको जानकारी दिएको छ ।
हिजो प्रदर्शनका क्रममा पक्राउ परेका सबै रिहा भइसकेकाले जेठ १९ गतेलाई तोकिएको बन्दको कार्यक्रम फिर्ता लिइएको समितिले प्रेस विज्ञप्तिमार्फत भनेको छ ।
समितिका संयोजक नवराज सुवेदीले जारी गरेको प्रेस विज्ञप्तिमा लेखिएको छ, ‘जेठ १८ गते प्रदर्शनको क्रममा हिरासतमा लिइएका हाम्रा सबै साथीहरु रिहा भइसकेको अवस्था मध्यनजर गर्दै जेठ १९ गतेलाई तोकिएको उपत्यका बन्दको कार्यक्रम फिर्ता लिइएको जानकारी गराइन्छ ।’
आइतबार काठमाडौंमा गरेको प्रदर्शनको क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपाका सांसद दीपक सिंह लगायतलाई प्रहरीले नियन्त्रणमा लिएको थियो भने आइतबार साँझ रिहा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस