२०८३, आषाढ १९ गते

शुक्रवार, आषाढ १९ गते २०८३

बुर्तिबाङलाई नयाँ सहर बनाउने योजना कहाँ पुग्यो ?

आइतवार , जेठ २६, २०८२

बागलुङ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गमा दश नमूना सहर बनाउने सरकारको आयोजनाअनुसार बागलुङको बुर्तिबाङमा पनि काम भइरहेको छ । बुर्तिबाङलाई नयाँ सहर बनाउन २०६९ सालमा घोषणा गरिएको थियो । आर्थिक वर्ष २०७२/७३ मा सरकारले बजेट विनियोजन नै गरेर काम अगाडि बढाएको थियो । आयोजनाको काम सुरु भएको १२ वर्षसम्म पनि अपेक्षाकृत रूपमा काम हुनसकेको छैन । २०६९ साल अगाडि नै बुर्तिबाङमा बजारको रूपमा स्थापित थियो ।

त्यसलाई थप व्यवस्थित गर्दै जाने भनिए पनि पर्याप्त बजेट नआउँदा र आएको सबै बजेटलाई पूर्ण रूपमा कार्यान्वयन गर्न नसक्दा काममा ढिलासुस्ती भएको देखिन्छ । विसं २०६९ देखि २०९० सम्म आयोजनाको काम सम्पन्न गर्ने लक्ष्य थियो । आयोजान सुरु भएदेखि हालसम्म रु ७८ करोड बढी रकम सरकारले विनियोजन गरेको छ । त्यसमध्ये रु ५० करोडमात्र खर्च भएको छ । नयाँ सहर आयोजनाले अझै थुप्रै पूर्वाधारका क्षेत्रमा काम गर्न बाँकी नै छ ।

आयोजनाले हालसम्म १६ दशमलव तीन किलोमिटर सडक ढलान, छ दशमलव तीन किलोमिटर नाला निर्माण, पाँच किलोमिटर नयाँ सडक ट्रयाक निर्माण, एउटा सभाहल, कुतथ्याप्लामा एकीकृत भवन, मनोरञ्जन पार्क निर्माण, दुई ७२ स्थानमा सौर्यबत्ती जडान, ५६ रोपनी जग्गा खरिद गरेको आयोजना कार्यालय सूचना अधिकारी कोमल शाहले जानकारी दिए । अहिले बसपार्क र टर्मिनल भवन निर्माणको भइरहेको उनको भनाइ छ । विनियोजित रकम खर्चका आधारमा पाँच प्रतिशतमात्र काम भएको उनले बताए ।

हाल तारीखेतबाट कुत्थ्याप्ला पहुँचमार्ग, पार्क निर्माण, कर्वडहलबाट दुलेसम्मको सडक र भब्रेटामा खेलकुद मैदान निर्माण भइरहेको छ । बुर्तिबाङ बजार जिल्लाको दोस्रो ठूलो व्यापारिक केन्द्र र नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनको प्रवेशद्वार हो । बजार क्षेत्रमा सवारी चाप बढ्दै गए पनि सडकको अवस्था पुरानै छ ।

नयाँ सहरका रूपमा निदृष्ट क्षेत्रमा कालोपत्र सडक निर्माण, व्यवस्थित विद्युतीकरण, खानेपानी, ढल निकासीलगायतको प्रबन्ध, उद्यान, खेलमैदान, मनोरञ्जनस्थल, हाटबजारलगायत पूर्वधार निर्माण हुनुपर्ने भए पनि अझै धेरै काम गर्न बाँकी रहेको सूचना अधिकारी शाह बताउँछन् ।

यो आयोजानाका लागि रु एक अर्ब समेत विनियोजन भएको छैन । सरकारले हालसम्म आव २०७२/७३ मा रु चार करोड ४७ लाख, आव २०७३/७४ मा रु आठ करोड २२ लाख, आव २०७४/७५ मा रु १६ करोड ४० लाख, आव २०७५/७६ मा रु १३ करोड छ हजार, आव २०७६/७७ मा रु सात करोड ५७ लाख, आव २०७७/७८ मा रु छ करोड ७३ लाख, आव २०७८/७९ मा रु १२ करोड छ लाख, आव २०७९/८० मा रु १८ करोड ३३ लाख, आव २०८०/८१ मा रु सात करोड ३३ लाख तथा चालु आवमा रु नौ करोड ९५ लाख विनियोजन भएको थियो ।

हरेक वर्ष बजेटको आकार घटबढ हुँदा लक्ष्यअनुसार काम गर्न नसकेको नयाँ सहर आयोजना कार्यालयले जनाएको छ । बर्सेनि करोडौँको बजेट नयाँ सहरका लागि आए पनि सोचेअनुसारको काम नभएको स्थानीय कुलमबहादुर घर्तीले बताए । आयोजना कार्यालयले फाट्टफुट्ट कम गरे पनि देखिने गरी नभएको उहाँको भनाइ छ । आम नागरिकले बढी प्रयोग गर्ने सडक, खानेपानी र बसपार्क भएको भन्दै ती कुनै पनि पूर्वाधार व्यवस्थित नभएको घर्तीले सुनाए ।

उनले भने, “१०–१२ वर्ष भयो यो नयाँ सहरको काम सुरु भएको तर अहिलेसम्म गतिलो संरचना बनेको देखिँदैन, बुर्तिबाङ बजारमा अहिले पनि पहिलेकै साँघुरो सडक छ, ओहोरदोहोर गर्न गाह्रो छ, साँघुरो सडकमा जोखिम मोलेर यात्री हिँड्छन्, फोहर व्यवस्थापन पनि हुनसकेको छैन, काम गरेपछि त केही फरकपन हुनुपर्ने हो, तर खासै केही परिवर्तन भएको छैन ।” अझै चुरेलावासमा पुल, खेलमैदान, सडक, हाटबजार, शीतभण्डार निर्माणलगायतका संरचना निर्माण गर्न बाँकी रहेको नयाँ सहर आयोजना कार्यालयले जनाएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट