विराटनगर । नेपालका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. भोला प्रसाद रौनियार अब विराटनगरको कञ्चनबारीस्थित नोबेल मेडिकल कलेज अन्तर्गत सञ्चालित नोबेल क्यान्सर अस्पतालमा सेवा प्रदान गर्ने भएका छन्। अब क्यान्सर उपचारको खोजीमा रहेका बिरामीहरूले राजधानी बाहिरै, पूर्वी नेपालमै अनुभवी विशेषज्ञको सेवा पाउन सक्ने भएका छन्।
डा. रौनियार नेपालका प्रतिष्ठित फिजिसियन तथा मेडिकल अङ्कोलोजिस्ट हुन्, उनले क्यान्सर उपचारको क्षेत्रमा चार दशकभन्दा बढी समय समर्पण गरेका छन् । उनी नेपालमा मेडिकल अङ्कोलोजी अभ्यास सुरु गर्ने प्रारम्भिक चिकित्सकमध्ये एक हुन्। लामो समयसम्म उनले भरतपुरस्थित बी.पी. कोईराला मेमोरियल क्यान्सर अस्पतालमा सेवा गरे र त्यहाँको मेडिकल अङ्कोलोजी विभाग प्रमुखको जिम्मेवारी पनि सम्हाले।
उनको विशेषज्ञता स्तन, डिम्बाशय, फोक्सो लगायतका ठूला ट्युमरहरूको उपचारमा केन्द्रित छ। लक्षित चिकित्सा (Targeted Therapy), इम्यूनोथेरापी, फैलिएको क्यान्सरको उपचार (Metastatic Care) तथा जीवन गुणस्तर सुधार गर्ने पालीएटिभ केयरमा उनी विशेष दक्ष हुन्। साथै, किमोथेरापीको असरस्वरूप देखिने जटिलता र साइड इफेक्टहरूको व्यवस्थापनमा पनि उनको अनुभव अत्यन्तै उपयोगी छ।
डा. रौनियारको समावेशसँगै नोबेल क्यान्सर अस्पताल क्यान्सर उपचारको क्षेत्रमा अझै सशक्त बनेको छ। पूर्वी नेपालका बिरामीहरूका लागि राजधानीसम्म धाउनुपर्ने बाध्यता हट्दै, स्थानीय स्तरमै गुणस्तरीय उपचार सेवा सुनिश्चित हुने अपेक्षा गरिएको छ।
यससँगै नोबेल मेडिकल कलेजले बिगत केही महिनादेखि नेपालमै पहिलोपटक रेडिएसन थेरापीसहितको अत्याधुनिक प्रविधि प्रयोग गरी क्यान्सर उपचार सुरु गरेको छ। करिब ३ अर्ब ४० करोड रुपैयाँको लगानीमा निर्माण गरिएको नयाँ भवनमा अत्याधुनिक उपकरण, दक्ष चिकित्सक र सहकर्मीहरूमार्फत सेवा विस्तार गरिएको हो।
उपलब्ध रेडिएसन प्रविधिमा रहेको ६डी काउच, हाइपर आर्क, एचडीएमआईसी, एसआरएस र एसबीआरटीजस्ता सुविधाले बिना शल्यक्रिया नै क्यान्सरको उपचार गर्न सक्ने क्षमता रहेको बताइएको छ। यस्तै IGRT, IMRT र VMAT प्रविधिले सामान्य स्वस्थ कोषहरूलाई क्षति नपुर्याई केवल क्यान्सर सेललाई लक्षित गरी नष्ट गर्न सक्षम बनाउँछन्। ब्राकी थेरापी प्रविधिबाट उपकरणको सहायताले शरीरभित्र नै पुगेर क्यान्सर सेललाई विनादुखाइ नष्ट गर्न सकिने जनाइएको छ।
नेपालमै पहिलोपटक नोबेलले न्युरो इन्ट्रा-अप्रेटिभ एमआरआई (iMRI) प्रविधिको प्रयोगमार्फत हजारौँ बिरामीको सफल न्युरो सर्जरी गरिसकेको छ। अत्याधुनिक उपकरणहरूको प्रयोगले सर्जरीको जटिलता कम गर्दै सुरक्षित र प्रभावकारी उपचार सम्भव बनाइएको छ।
नोबेल क्यान्सर अस्पतालमा क्यान्सर रोगका लागि दैनिक ओपीडी सेवा, प्रयोगशाला परीक्षण, एक्सरे, सिटी स्क्यान, एमआरआई, अल्ट्रासाउन्ड, डे केयर, किमोथेरापी, शल्यक्रिया, भर्ना गराई उपचार गरिने अन्तरङ्ग सेवा तथा रेडिएसन थेरापीसमेत सञ्चालनमा छन्।
नेपालमै उत्कृष्ट क्यान्सर उपचार केन्द्रका रूपमा नोबेल क्यान्सर अस्पतालको उपस्थिति थप सशक्त बन्दै गएको छ।
नोबेल नेपाली कांग्रेसका सांसद डा. सुनील शर्माको हो । डा. शर्मा प्रतिनिधिसभाका तलब–भत्ता नलिने एक मात्र सांसद हुन्। उनी सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म निःशुल्क स्वास्थ्य शिविरहरू सञ्चालन गर्दै आएका छन्। यस्ता शिविरहरूमा उपचार सम्भव नभएका बिरामीलाई काठमाडौं मेडिकल कलेज वा नोबेल मेडिकल कलेजमा ल्याई निःशुल्क उपचारको व्यवस्था मिलाउने कार्य निरन्तर भइरहेको छ।
उनकै पहलमा नोबेल मेडिकल कलेजमा आफ्नै निर्वाचन क्षेत्रका लागि समर्पित ५० शय्याको निःशुल्क क्याबिन स्थापना गरिएको छ। पार्टी वा पहिचानको आधारमा नभई सबै नेपालीलाई समान रूपमा सेवा पुर्याउने प्रतिबद्धता उनले जनाएका छन्।
हालै उनले मोरङको बेलबारीमा एम्बुलेन्स हस्तान्तरण गरेका छन्, साथै देशका सात विभिन्न स्थानमा निजी पहलमा एम्बुलेन्स उपलब्ध गराइसकेका छन्। उनका यी मानवीय कार्यहरूले “नेता भनेको जनताको साँचो अभिभावक हो” भन्ने सन्देशलाई बलियो बनाएका छन्।
प्रतिक्रिया दिनुहोस