२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

धौलागिरिमा नर्सिङ र आँपपीपलमा एचए पढाउने गण्डकी प्रदेश सरकारको तयारी

बुधवार , आषाढ ४, २०८२

कास्की । गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयले बागलुङस्थित धौलागिरि अस्पतालमा स्टाफ नर्स र गोरखाको आँपपीपल अस्पतालमा एचए विषय पढाउने तयारी गरेको छ ।

स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)सँगको सहकार्यमा ती विषयको पठनपाठन सुरू गर्न लागिएको बताए ।

“आगामी साउनदेखि नै एचए र नर्सिङ विषय पढाउने गरी तयारी भइरहेको छ, सोका लागि मन्त्रालयले रु एक करोड बजेटसमेत विनियोजन गरिसकेको छ”, उनले भने, “भौतिक पूर्वाधारदेखि र मानवसंसाधनको कुनै समस्या नरहेकाले दुवै विषयको पढाइ प्रभावकारी ढङ्गले अगाडि बढ्छ ।” मन्त्रालयले धौलागिरि प्रादेशिक अस्पताललाई हालै १०० श्ययामा स्तरोन्नति गरिएपछि स्टाफ नर्स पढाउने बाटो खुलेको थियो ।

एचए पढाउने तयारी भइरहेको गोरखाको आँपपीपल अस्पताल पनि अहिले ५० श्ययामा स्तरोन्नति गरिएको छ । स्टार्फ नर्सका लागि बागलुङ नगरपालिका–१४ स्थित ‘सिटिइभिटी’को भवनमा सैद्धान्तिक विषयको पढाइ र व्यवहारिक अभ्यास धौलागिरि अस्पतालमा हुने स्वास्थ्यमन्त्री पाठकले बताए । गोरखाको आँपपीपल अस्पतालमा एचए पठनपाठनका लागि भने केही पूर्वाधार थप्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ ।

पालुङटार नगरपालिकाअन्तर्गत रहेको उक्त अस्पताल गत वर्षमात्र प्रदेश सरकार मातहत ल्याइएको थियो । मन्त्रालयका सचिव डा. विश्वबन्धु बगालेले यी अस्पतालमा स्टाफ नर्स र एचए विषयको पढाइ सुरू भएमा जनशक्ति उत्पादनका दृष्टिले महत्वपूर्ण उपलब्धि हुने बताए । ‘सिटिइभिटी’को उच्च नेतृत्वसँग मुख्यमन्त्री र मन्त्रालयतहबाट पनि यस छलफल भएको उनको भनाइ छ । “सिटिइभिटी र मन्त्रालयबीच छलफल तथा गृहकार्य भइरहेको छ, अस्पतालको स्तर निर्धारण र थप अध्ययनपछि ठोस निर्णयमा पुग्छौँ”, सचिव बगालेले भने ।

न्यून आय भएका र सीमान्तकृत समुदायका विद्यार्थीलाई प्रदेश सररकाबाट पूर्ण छात्रवृत्तिमा पढाउन सकिने उनको भनाइ छ । “पूर्ण छात्रवृत्ति पाएको विद्यार्थीले प्रदेश सरकार मातहतकै स्वास्थ्य संस्थामा केही समय सेवा गर्नुपर्ने प्रावधान राख्न सकियो भने जनशक्ति पलायनलाई पनि रोक्न सकिन्छ, विद्यार्थीले रोजगारीको पनि सुनिश्चितता हुन्छ”, सचिव बगालेले भने ।

पछिल्लो समय स्वास्थ्य क्षेत्रमा प्राविधिक विषय पढ्ने विद्यार्थीको सङ्ख्या घट्दै गएको अवस्थामा यी विषयको अध्ययनअध्यापनमा जोड दिनुपर्ने उनले बताए । जिल्लास्तरमा नर्सिङ, स्टाफ नर्सलगायत चिकित्सा विषयको पढाइ नहुँदा ग्रामीण भेगका विद्यार्थी ठूलो रकम खर्चेर पोखरालगायत ठूला सहरमा जानुपर्ने बाध्यता छ । सचिव बगालेले बागलुङ र गोरखामा ‘सिटिइभिटी’का भवनलगायत संरचना भएका कारण पहिलो चरणमा ती दुई अस्पतालमा स्टार्फ नर्स र एचए विषय पढाउने तयारी भइरहेको बताए ।

“प्रदेशका अन्य अस्पताल पनि व्यावसायिक तथा प्राविधिक विषय पढाउने विषयमा ‘सिटिइभिटी’ले चासो देखाइरहेको छ, हामीले तत्काललाई बागलुङको धौलागिरि अस्पताल र गोरखाको आँपपीपल अस्पताललाई प्राथमिकतामा राखेर काम अगाडि बढाएका छौँ”, उनले भने, “कानुनी या अन्य कुनै अड्चन आएन भने आगामी आर्थिक वर्षदेखि नै दुवै विषयको पढाइ सुरू हुन्छ, यसमा ‘सिटिइभिटी’को नेतृत्व पनि सकारात्मक छ ।”

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट