विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले मानवीय कारणले नै मनसुनजन्य विपत्तको जोखिम बढीरहेको बताएका छन् ।
शुक्रबार विराटनगरमा आयोजित मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना संवाद कार्यक्रमलाई सम्बोधन गर्दै कार्कीले भौतिक संरचना निर्माण गर्दा त्यसबाट आउने समस्यालाई ख्याल नगर्दाको परिणाम मनसुनजन्य विपत्तमा देखिने गरेको बताए ।
“विकास निर्माणका काम गर्दा वातावरणीय अध्ययनमा ध्यान नदिनु तथा जलवायु परिवर्तनलाई हामी आफैँले चुनौति दिईरहेकाले पनि पछिल्लो समयमा मनसुनजन्य विपत्तले प्राकृतिक क्षति, आर्थिक क्षति र मानवीय क्षति गरिरहेको छ”, मुख्यमन्त्री कार्कीले भने, “अझै पनि हामीले गम्भिर रुपमा विपत्तलाई लिन सकेनौ भने केही बर्षपछि मनसुनजन्य विपत्तबाट हुने क्षतिलाई रोक्ने सामाथ्र्य हामीसँग हुँदैन ।”
मुख्यमन्त्री कार्कीले कोशी प्रदेशभित्र विपत्त व्यवस्थापनको लागि गर्नुपर्ने सबै किसिमको तयारी गर्न आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई निर्देशन समेत दिए । मानवीय क्षति, भौतिक क्षति तथा आर्थिक क्षतिलाई रोक्नको लागि कसरी बढी भन्दा बढी सचेतना जगाउँन सकिन्न्छ त्यसतर्फ ध्यान दिन उनले आग्रह गरे ।
विपत्त पहिलो चुनौतिको रुपमा देखिएकोले विपत्त प्रतिकार्य संरचना खडा गरेर काम गर्नुपर्ने बताउँदै मुख्यमन्त्री कार्कीले यसले नेतृत्व आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई गर्न आग्रह गर्दै सरकारले गर्नुपर्ने आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले मानवनजीवन, भौतिक संरचना र प्राकृतिक स्रोत जोगाउने कुरामा प्रदेश सरकार गम्भिर रहेको बताए ।

त्यसैगरी कार्यक्रममा बोल्दै आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले कोशी प्रदेशले ५ बर्षे “प्रदेश विपत्त व्यवस्थापन रणनीति कार्ययोजना“ बनाएर काम अघि बढाएको बताए । उनले कोशी प्रदेशमा मनसुनजन्य विपत्तबाट जोखिममा रहेका र अति जोखिममा रहेका क्षेत्र छुट्याएर काम भईरहेको जानकारी दिए । उनले भने, “अति जोखिममा रहेका वस्तीलाई हामीले स्थानातरण गर्ने तयारी पनि गरिरहेका छौं ।”
संघिय विपत्त व्यवस्थापन समिति, जिल्ला विपत्त व्यवस्थापन समिति र स्थानीय विपत्त व्यवस्थापन समितिसँग सहकार्य गरेर काम गरिरहेको मन्त्री भण्डारीले जानकारी दिए । स्थानीय विपत्त व्यवस्थापन समितिलाई प्रभावकारी बनाउने गरी सरकारले काम गरिरहेको उनले बताए ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशको आयोजनामा भएको कार्यक्रममा पूर्व सचिव केदार न्यौपानेले “मनसुन हिजो, आज र भोली” विषयक कार्यपत्र प्रस्तुत गरेका थिए भने “२०८१ सालको मनसुन चित्रहरुमा” कार्यपत्र डीपीनेटका अध्यक्ष डा. राजु थापाले प्रस्तुत गरेका थिए ।
जल तथा मौसम विज्ञान विभाग धरानका रुद्र परियारले “२०८२ सालको मनसुन प्रक्षेपण” कार्यपत्र प्रस्तुत गरेका थिए भने राष्ट्रिय विपत्त जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण गोमा चेम्जोङले “संघिय मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०८२” विषयक कार्यपत्र प्रस्तुत गरेकी थिईन् ।
त्यस्तै कोशी प्रदेशको “मनसुन पूर्वतयारी तथा प्रतिकार्य सम्वन्धी” विज्ञ राम कुमार दाहाल र यस प्रसाद सुब्बाले प्रस्तुत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस