काठमाडौं । ललितपुरस्थित ग्वार्को चोकमा निर्माण भएको ओभरपासको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । ओभरपास शुक्रबार प्रधानमन्त्री ओलीले उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख, एसएसपी नवराज अधिकारीले रिबन काटेका हुन् । त्यस्तै, नजिकै रहेको डिभाइडरमा टाँसिएको शिलापत्र अनावरण भने प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले काठमाडौं उपत्यकामा निर्माण सम्पन्न बहुप्रतिक्षित ग्वार्को ओभरपास परियोजना निर्माणको प्रक्रिया अगाडि बढाएको थियो ।

केन्द्रले दुई वर्षभित्र काम सम्पन्न हुनेगरी २०७८ साल फागुन १२ गते आशिष–समानान्तर रेलिगेर जेभी निर्माण व्यवसायी कम्पनीसँग ठेक्का सम्झौता गरेको थियो ।
यसरी २०८० साल फागुन ११ गते ठेक्का सम्पन्न गर्ने मिति तोकिएको थियो । तर तोकिएको समयमा निर्माण सम्पन्न नभएपछि २०८१ असारमा निर्माण सम्पन्न हुनेगरी फेरि दोस्रोपटक म्याद थप भएको थियो ।
तर फेरि पनि तोकिएको समयमा पनि निर्माण सम्पन्न हुन नसकेपछि २०८१ साल पुस ८ गते सम्पन्न गर्नेगरी म्याद थप भयो । आयोजनामा समस्या देखिएपछि गत पुस र माघमा गरी एक महिना जति आयोजना निर्माणको कामसमेत ठप्प भएको थियो ।
ग्वार्को ओभरपास अन्तर्गत २० मिटर स्पानसहित ४ लेनको पुल निर्माण भएको छ । यसबाहेक ५ सय मिटर लामो अप्रोच सडक बनेको छ । जसमा बालकुमारी र सातदोबाटोबाट र्याम बनाइएको छ ।
उद्घाटन भएसँगै ओभरपासमा सवारीसाधन सञ्चालनमा आएका छन् ।
प्रतिक्रिया दिनुहोस