मुगु । मुगु जिल्ला स्वास्थ्य सेवा कार्यालयको आयोजनामा डेङ्गु सार्ने लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गरिने अभियान सञ्चालन भएको छ। एडिज जातको पोथी लामखुट्टेको टोकाइबाट हुने डेङ्गु नियन्त्रण गर्नका लागि अभियान सञ्चालन गरिएको हो ।
स्वास्थ्य सेवा कार्यालय मुगुका कार्यालय प्रमुख डा.निर्मल नगरकोटीको अध्यक्षता तथा सुरक्षा निकायका प्रमुख एवम् प्रतिनिधिहरुको उपस्थितीमा सो अभियान सुरु भएको हो । छायानाथ रारा नगरपालिकाको गमगढी बजार क्षेत्र लगायत बिभिन्न बस्तिहरुमा लार्भा खोजी गरी नष्ट गरिने जिल्ला स्वास्थ्य सेवा कार्यालय मुगुका कार्यालय प्रमुख डा.नगरकोटीले बताए।
लामखुट्टेका लार्भा नियन्त्रण गर्न स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीको टोलीले घरघरमा पुगेर लामखुट्टेले फुल पार्ने ठाउँ पानीट्याङ्की, गाग्रो, बाल्टिन तथा ड्रम, गमला, टायरको पानी फाल्ने र पानी जम्ने खाल्डाखुल्डी पुर्ने लगायतका कार्य गरेका छन् ।
स्थानीय बासिन्दालाई डेङ्गुको भाइरस रोकथामका लागि अपनाउनुपर्ने सावधानीबारे पनि उनीहरुले जानकारी दिने गरेका छन् ।
डेङ्गु भाइरस सार्ने लामखुट्टेले दिउँसोपख मात्रै टोक्ने भएकाले यसबाट बच्नका लागि पूरै शरीर ढाक्ने गरी कपडा लगाउने, मलमको प्रयोग गर्ने, राति र दिउँसो झुलभित्र सुत्ने, पानी जम्ने भाँडाकुँडाको पानी फाल्ने, खाल्डाखुल्डीमा पानी जम्न नदिने र झ्यालढोकामा जालीको प्रयोग गर्नुपर्ने डेङ्गु लगायतका किट जन्य रोगहरु सार्ने लामखुट्टेका लार्भा खोजी गरी नष्ट गर्ने अभियानका कार्यक्रम संयोजक रोशन कुमार शाहले बताए।
डेङ्गु के हो ?
डेङ्गु भनेको भाइरल इन्फेक्सन हो । यो एडिज लामखुट्टेको टोकाइबाट सर्छ । एडिज एक प्रजातीको लामखुट्टे हो, जुन प्राय गरेर कृतिम भण्डारण गरेर राखेका शुद्द पानीमा बस्छ । यसले प्राय दिनमा टोक्ने गर्छ । डेङगु विभिन्न प्रकारका हुन्छन् । साधारणतया सबै डेङ्गु खतरनाक हुँदैनन् । डेङ्गु कुनै साधारण लक्षण देखिएर पनि हुन्छ भने कुनैमा असाधारण लक्षण देखिने गर्छ । यो रोग लागेका ९७ प्रतिशतलाई सामान्य ज्वरो देखिन्छ । यो साधारण लक्षण हो । शरीरका जुनसुकै भागबाट रक्तश्राव बढी हुने, रक्तचाप कम हुने हुन्छ । यस्तो देखिएमा असाधारण लक्षण हुन्छ र यसलाई जटिल मानिन्छ ।
यसको निर्मूल गर्ने उपचार भने हुँदैन । लक्षण अनुसारको उपचार मात्र हुन्छ । सँगसँगै यसले अरु रोगसँग लड्न सक्ने क्षमतालाई पनि कम गरिदिन्छ जसले गर्दा अरु रोगले यदि आक्रमण गर्यो भने झनै जटिल बन्दै जान्छ । डेङगु संक्रमण हात मिलाउँदा, अंगालो मार्दा, सँगै खाना खाँदा सर्दैन । संक्रमित भएको ब्यक्तिलाई यदि कुनै लामखुट्टेले टोक्यो र त्यहि लामखुट्टेले सामान्य ब्यक्तिलाई टोक्यो भने डेङ्गु सर्छ ।
पानी जम्ने ठाउँमा गर्मीमा र पानी बग्ने व्यवस्था राम्रोसँग नहुने ठाँउमा एडिज लामखुट्टे बढी सक्रिय हुने गर्दछ । यसैगरी खटिरा आउने, रक्तश्राव बढी हुने, बान्ता हुने, शरीरमा प्लेटलेटको सङ्ख्या कम भएमा रक्तनलीहरूबाट रगत शरीरका अन्य तन्तुमा जाने भएकोले शरीरमा डाबर आउने, बिरामी सिकिस्त हुने, पिसाब कम हुने तथा रक्तचाप निकै कम हुने हुन्छ । अधिकांश रोगीहरु सामान्य उपचारपछि निको हुने भएपनि बेलैमा उपचार नगरेमा मानिसको ज्यानै समेत जान सक्छ ।
कसरी बच्ने ?
- सामान्यतयाः डेङ्गुबाट बच्न निम्न कुराहरुमा सावधानी अपनाउनुपर्छ ।
- लामखुट्टेको टोकाइबाट बच्नुपर्छ । घरवरपर पानी जम्ने खाल्डाखुल्डीहरु पुर्नुपर्छ ।
- घर नजिक कुनै पनि झाडी राख्नु हुँदैन ।
- लामखुट्टेको टोकाइबाट बच्न झ्लको प्रयोग गर्ने वा लामखुट्टे धुप वा क्रिम प्रयोग गर्नु पर्छ ।
- पानी राखिएको भाँडा बर्तन खुला छाड्नु हुँदैन । झ्याल ढोकामा जाली राख्नुपर्छ । शरीर पुरै ढाक्ने कपडा लगाउनुपर्छ ।
- सरसफाइमा ध्यान दिनुपर्छ ।
- आफ्नो घर वरिपरी मात्र होइन समुदाय पनि सफा सुगर राख्न सचेतना फैलाउनु पर्छ ।
प्रतिक्रिया दिनुहोस