काठमाडौं । शरद चन्द्र शाहा मेमोरियल फाउन्डेसन (एससीएसएमएफ) ले आफ्नो वार्षिक एससीएसएमएफ खेलकुद पुरस्कार’’ को दोस्रो संस्करण असार १३ गते काठमाडौंको कमलादीस्थित होटल रोयल सीङ्गीमा एक भव्य समारोहबीच सम्पन्न गरेको छ। नेपाली खेलकुदमा योगदान पुर्याएका स्थापित हस्ती र उदाउँदा प्रतिभालाई सम्मान गर्ने उद्देश्यले स्थापित यो पुरस्कार समारोहमा यस वर्ष पनि एक वरिष्ठ र एक युवा खेलाडीलाई सम्मान गरिएको थियो।
यस वर्षको नेपाली फुटबलका महान हस्ती तथा पूर्व कप्तान राजुकाजी शाक्यलाई प्रदान गरियो। नेपाली फुटबलमा खेलाडी तथा प्रशिक्षकको रूपमा उनले पु्र्याएको अतुलनीय र उत्कृष्ट योगदानको कदर गर्दै उनलाई यो सम्मान प्रदान गरिएको हो। शाक्यको नेतृत्वमा नेपालले दक्षिण एसियाली खेलकुदमा ऐतिहासिक स्वर्ण पदक जितेको थियो र उनी नेपाली फुटबलका एक प्रेरणादायी व्यक्तित्व हन्।
त्यसैगरी, ‘एससीएसएमएफ खेलकुद पुरस्कार २०२५’ बाट नेपाली महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीलाई पनि सम्मान गरियो। देशमा भलिबल खेलको विकास र महिला खेलाडीहरूलाई प्रेरणा प्रदान गर्न उनले पु्र्याएको महत्वपूर्ण योगदानको लागि उनलाई सम्मानित गरिएको हो। शाहीको नेतृत्वमा नेपाली महिला भलिबल टोलीले अन्तर्राष्ट्रिय स्तरमा उल्लेखनीय सफलता हासिल गरेको छ।
पुरस्कार स्वरूप दुवै जनालाई रु २,५०,००० स–सम्मान नगद प्रदान गरियो।
शरद चन्द्र शाहा मेमोरियल फाउन्डेसन स्वर्गीय शरद चन्द्र शाहाको सम्झनामा उनका परिवारजनहरूद्वारा २०२० नोभेम्बर ३० मा स्थापना गरिएको थियो। शरद चन्द्र शाहा नेपाली खेलकुद इतिहासमा प्रमुख परिवर्तन ल्याउने व्यक्तिका रुपमा प्रख्यात हुन्। उनी ओलम्पिक काउन्सिल अफ एसिया एशियाली ओलम्पिक परिषद्को उपाध्यक्षको रूपमा सेवा गर्ने पहिलो नेपाली व्यक्ति थिए। नेपालमा राष्ट्रिय खेलकुदको सुरुवात र ओलम्पिक आन्दोलन ल्याउने व्यक्ति स्व. शाहा नै थिए।
उनी २०३४ देखि २०४५ सालसम्म राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिव तथा नेपाल ओलम्पिक कमिटिको अध्यक्ष रहेका थिए। उनी नेपालको राष्ट्रिय प्रतियोगिता तथा साउथ एशियन गेम्सको योजनाकार पनि थिए।
फाउन्डेसनको मुख्य उद्देश्य राष्ट्रको खेलकुद विकास गतिविधिहरूमा सुधारका लागि समर्पित अथवा कुनै पनि किसिमले योगदान पुर्याएका व्यक्ति तथा संस्थाहरुलाई प्रोत्साहन, सहायता, र पहिचान तथा सम्मान प्रदान गर्नु हो। विगतका दिनहरुमा शरद चन्द्र शाहा मेमोरियल फाउन्डेसनद्वारा नेपाल स्पोर्ट्स फर अल आयोगको सहकार्यमा “नेपालको खेलकुदमा नयाँ युगको प्रारम्भ “नेपालमा नयाँ युगको सुरुवात खेलकुद” नामक फोटो प्रदर्शनी आयोजना गरिएको थियो।
साथै, यस फाउन्डेसनद्वारा २०८० असार २६ गते मंगलबार नवीन अर्यालद्वारा लिखित “नेपाली खेलकुदको वृतान्त नामक किताब पनि प्रक्षेपण गरिएको थियो।
प्रतिक्रिया दिनुहोस