२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

लहानमा ‘सुत्केरी तथा गर्भवती पोषण प्याकेज कार्यक्रम’

सोमवार , आषाढ २३, २०८२

सिरहा । लहान नगरपालिकाले तीन वर्षअघिदेखि संचालन गर्दै आएको ‘सुत्केरी तथा गर्भवती पोषण प्याकेज कार्यक्रम’ अहिले प्रभावकारी रूपमा अघि बढिरहेको छ ।

नगरपालिकाका २४वटै वडामा ‘रोटेसन’को आधारमा प्रत्येक महिनाको २२ गते गर्भवती तथा सुत्केरीलाई पोषण प्याकेज वितरण गरिँदै आएको छ । आइतबार वडा नं २२ मा आयोजित कार्यक्रममा नगरप्रमुख महेशप्रसाद चौधरीले ४५ जनालाई पोषण प्याकेज हस्तान्तरण गरे । उनका अनुसार यो कार्यक्रम गत स्थानीय तहको निर्वाचनअघि जनतासँग गरिएको प्रतिबद्धता अनुसार सुरु गरिएको हो ।

“सुत्केरी अवस्थामा पोषिलो आहार नपाउँदा बच्चाको पोषणमा गम्भीर असर पर्छ, जुन भविष्यका लागि खतरा हुन्छ । मैले नगरप्रमुखको जिम्मेवारी सम्हालेपछि एउटा स्वस्थ पुस्ता तयार पार्न, आमाहरूको स्वास्थ्य सुधार गर्न र कुपोषणको चक्र तोड्न यो कार्यक्रम सुरु गरेको हुँ,” उनले भने,“अहिले यो कार्यक्रमले जनस्तरमा निकै राम्रो प्रभाव पारेको देखिएको छ, त्यसैले आगामी दिनमा अझ प्रभावकारी बनाउँदै लैजाने योजना छ ।”

नगरपालिकाभित्र उल्लेख्य दलित र विपन्न समुदाय रहेकोले उनीहरूलाई लक्षित गर्दै कार्यक्रम बनाइएको हो । उनका अनुसार कार्यक्रमले हाल जनस्तरमा सकारात्मक प्रभाव पारिरहेको र आगामी दिनमा अझ व्यापक बनाइनेछ । कार्यक्रमको प्रभावबारे बोल्दै वडा नं २२ का वडाध्यक्ष गडुलबहादुर जर्घामगरले पनि यस योजनाले महिलाहरूमा स्वास्थ्य सचेतना बढेको बताए ।

“पहिला गर्भवती र सुत्केरीहरू स्वास्थ्य संस्थामा नियमित जाँच गर्न जाँदैनथे,” उनले भने, “अब पोषण प्याकेज पाउने प्रक्रियामा नियमित स्वास्थ्य जाँच अनिवार्य भएकाले उनीहरू स्वास्थ्य संस्थामा आउन थालेका छन्, जसले आमाको पनि स्वास्थ्य सुधार ल्याएको छ ।”

नगरपालिकाको स्वास्थ्य शाखाकी कर्मचारी रीता यादवका अनुसार यो कार्यक्रमले मातृ तथा शिशु स्वास्थ्यमा सकारात्मक असर पारेको छ ।पोषण प्याकेजमा चामल, दाल, नून, तेल, चना, मोटर, सोयाबिनलगायतका खाद्य सामग्री समावेश गरिएको छ । कार्यक्रमबाट लाभान्वित महिलाले आफूहरूले पाएको सहयोगले गर्भावस्था र सुत्केरी अवस्थाको चुनौती पार गर्न सजिलो भएको अनुभव बाँडेका छन् ।

‘बर्थिङ सेन्टर’ संचालनमा आउने

नगरप्रमुख चौधरीले यसै वडाको तरेगनामा यही वर्षदेखि ‘बर्थिङ सेन्टर’ संचालनमा ल्याइने जानकारी दिए। नगरपालिकाको स्वास्थ्य शाखाले यस सम्बन्धमा आवश्यक सबै प्रक्रिया पूरा भइसकेको जानकारी दिएको छ ।

लहान नगरपालिकाको दुर्गम क्षेत्र मानिने तरेगनामा सञ्चालनमा आउन लागेको यो बर्थिङ केन्द्रबाट स्थानीय महिलाहरूलाई सुरक्षित र सहज प्रसूति सेवा उपलब्ध हुने अपेक्षा गरिएको छ । उनका अनुसार, वर्षायाममा सडक अवरुद्ध हुँदा रामकुमार उमाप्रसाद प्रादेशिक अस्पतालसम्म पुग्न नसक्ने अवस्थाले गर्दा गर्भवतीले समयमा सेवा नपाइ ज्यान गुमाउने जस्ता दुःखद घटना दोहोरिरहेकाले यो केन्द्रले अब स्थायी समाधान दिनेछ ।

उनले भने,“बर्थिङ सेन्टर सञ्चालनमा आएपछि लहान वडा नम्बर १६ को भसुवा, भमरेका गर्भवतीलाई अब सहरसम्म धाउनुपर्ने बाध्यता हट्नेछ । एमबिबिएस डक्टरसहितको सेवा हुनेछ ।” उनका अनुसार केन्द्र संचालनका लागि आवश्यक पूर्वाधार निर्माण, जनशक्ति व्यवस्थापन र उपकरण तयारी अवस्थामा छन् ।यसबाट दुर्गम क्षेत्रमा सुरक्षित मातृत्व सेवा सुनिश्चित हुने विश्वास लहान नगरपालिकाले लिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार