काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले युवाहरूलाई महत्वाकांक्षीभन्दा इमान्दार बन्ने प्रेरणा दिँदै नेपालमै अवसर खोज्न आह्वान गरेका छन्। राष्ट्रिय युवा महोत्सवमा सम्बोधन गर्दै उनले नेपालमा अपार सम्भावना रहेको बताउँदै वैदेशिक रोजगारीको मोह त्यागेर स्वदेशमै सम्भावनाको खोजी गर्न आग्रह गरे ।
“मैले सानै उमेरमा अभिभावक गुमाएको व्यक्ति हुँ। सानैदेखि नै व्यवसायिक क्षेत्रमा केही गरौँ भन्ने सपना थियो। महत्वाकांक्षी नभई इमान्दार भएर काम गर्ने हो भने सफल भइन्छ भन्ने मेरो अनुभव छ,” अध्यक्ष ढकालले आफ्ना संघर्षका दिन सम्झिँदै भने ।
उनले नेपालमा व्यावसायिक विकासका अनेकौं सम्भावना रहेको उल्लेख गर्दै भने, “नेपालमा जस्तो सम्भावना अन्यत्र छैन। म पनि जापानमा गई काम गरेर फर्किएको व्यक्ति हुँ। तर अनुभवले सिकाएको कुरा के हो भने नेपालमा नै हरेक क्षेत्रमा केही गर्न सकिन्छ।”
नेपालमै पढ्न, काम गर्न र अगाडि बढ्न सम्भव रहेको उल्लेख गर्दै उनले राम्रा कलेज तथा विश्वविद्यालयहरूको उपलब्धता भएकाले विदेश जानुपर्ने अवस्था नरहेको प्रस्ट पारे। “मैले विश्वका धेरै देश घुमेँ, तर नेपालजस्तो सम्भावना भएको देश अन्यत्र देखिनँ,” उनले थपे ।

कक्षा १२ परीक्षा दिइसकेका र भविष्यको योजना बनाउँदै गरेका युवाहरूलाई लक्षित गरी आयोजित यस राष्ट्रिय युवा महोत्सवमा मोडेल इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी), सुनौलो नेपाल, परिवर्तनका लागि युवा (युथ फर चेन्ज), वाइइडी टक्स र इन डेप्थ स्टोरी (आइडिएस) को संयुक्त आयोजना रहेको थियो । महोत्सवको उद्देश्य नेतृत्व विकास, सकारात्मक सोच, तथा उद्यमशीलता प्रवर्द्धन गर्नु रहेको आयोजकले बताएका छन्।
प्रतिक्रिया दिनुहोस