काठमाडौं । चीनले बाढीले बगाएपछि अवरुद्ध भएको रसुवा–केरुङ नाका जोड्न ल्हेन्दे खोलामा आज (आइतबार)बाट बेलिब्रिज निर्माण थाल्ने भएको छ । २४ असारको बाढीले भोटेकोशीको सहायक नदी ल्हेन्देको मितेरी (सीमापुल) बगाएको थियो ।
नेपाल सरकारले स्वीकृति दिएसँगै चीन पक्षले आइतबारबाट निर्माणको काम थाल्ने जानकारी दिएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले बताए । ‘तिब्बततर्फ यसअघि नै साइट क्लियरेन्सको काम भइरहेको थियो ।
बाढीले पुल बगाउँदा नाका अवरुद्ध भएपछि नेपाल सरकारले पुल निर्माण र नाका जोड्ने सडक पुनर्निर्माणका लागि चीनसँग आग्रह गरेको थियो । परराष्ट्रले अर्थ, भौतिक पूर्वाधार, कानुनलगायत मन्त्रालयको राय लिएपछि नेपाल र चीनबिच बेलिब्रिज बनाउने समझदारी भएको थियो । चीनले हाललाई बेलिब्रिज बनाउन लागेको हो ।
नेपाल र चीनबिच वार्षिक सवा तीन खर्बको व्यापार हुँदै आएको छ । गत आर्थिक वर्ष ०८१र८२ मा नेपालमा चीनबाट तीन खर्ब ४१ अर्ब १० करोड ४५ लाखको आयात भएको छ । नेपाल–चीनबिच सबैभन्दा बढी आयात–निर्यात हुने प्रमुख व्यापारिक नाका रसुवागढी–केरुङ हो । गत आर्थिक वर्ष ०८१र८२ मा रसुवा नाका हुँदै ८५ अर्ब २३ करोड २३ लाखको आयात भएको छ ।
प्रतिक्रिया दिनुहोस