काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले 'नाडा अटो शो २०२५' आयोजना गर्ने भएको छ । यही भदौ ३ गतेदेखि ८ गतेसम्म भृकुटीमण्डपमा प्रदर्शन हुने उक्त शोमा १२५ भन्दा बढी स्टल रहनेछन् ।
युनिट्रीको प्रस्तुतिमा हुने नाडा अटो शोको उद्घाटन अर्थमन्त्री विष्णु पौडेलले गर्नेछन् । ‘गो फर मोर’ नारासहित आयोजना हुने यस वर्षको अटो शो केवल नयाँ गाडी हेर्ने ठाउँ मात्र नभई नेपालमा स्मार्ट, दिगो र भविष्यमुखी मोबिलिटीको प्रतीक बन्ने विश्वास लिइएको छ।
नाडाका अध्यक्ष करण चौधरीका अनुसार भृकुटीमण्डपमा १ लाख ६५ हजार स्क्वायर फिटभन्दा बढी स्थलमा प्रदर्शन रहनेछ । यस वर्षको शोमा उन्नत चारपांग्रे रोबोट र Deepal eVTOL UAV भविष्यको शहरी हवाई मोबिलिटीको झलक देखाइने भएको छ । यी प्रविधिहरूले नेपालको अटोमोटिभ क्षेत्रमा नयाँ युगको संकेत दिने विश्वास गरिएको छ।

शोमा १९ वटा चारपांग्रे सवारी ब्रान्डहरू, १३ वटा हल्का व्यावसायिक सवारी, ४ वटा दुईपांग्रे सवारी ब्रान्डहरू, साथै ल्युब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण तथा वित्तीय सेवा प्रदायक गरी ३५ कम्पनीहरूको सहभागिता रहनेछ। यसबाहेक नाडा अटो शोमा १२५ भन्दा बढी प्रदर्शकहरू रहने र १ लाखभन्दा बढी आगन्तुक आउने अपेक्षा गरिएको छ।
साथै, मोरिस माइनर, फियाट, प्यूजो, बीटल, मिनी कूपर, टोयोटा आरटी, मर्सिडीज बेन्ज, टोयोटा आरटी ४०, भीडब्ल्यू बस, टोयोटा कोरोला, माज्दा फेमिलिया, टोयोटा एमआर२ लगायतका सवारी साधनहरू पनि प्रदर्शनमा राखिनेछ । ‘मेड इन नेपाल पेभेलियन’को स्वदेशमै निर्माण भएका सवारी तथा पार्ट्स पनि प्रदर्शनीमा राखिने नाडाले जनाएको छ ।
नाडा अटो शो एउटा प्रदर्शनी मात्र नभएर अटो मोबाइल व्यवसायीहरुको चाड रहेको अध्यक्ष चौधरी बताउँछन् । उनकाअनुसार यस वर्षको शोमार्फत अटो क्षेत्रको भविष्य, सम्भावना, मोबिलिटी, टेक्नोलोजी देखाइनेछ । “यस वर्षको नाडा अटो शोमा उपभोक्तालाई अटो मोबाइल क्षेत्रको भविष्य देखाउँछौँ । फिल गराउँछौँ, यो अटो क्षेत्रका व्यवसायीहरुको चाड हो,” उनले भने ।
नाडा अटो शो अवलोकन गर्नका लागि खल्ती एपमार्फत टिकट बुक गर्दा भदौ २ गतेसम्म २० प्रतिशत क्यासब्याक पाइनेछ।
प्रतिक्रिया दिनुहोस