काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संघीय निजामती सेवा विधेयक २०८० को प्रतिवेदनमा त्रुटि भएको तर, त्रुटि आफूबाट नभएको जिकिर गरेका छन् ।
प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा गठित संसदीय विशेष छानबिन समितिले गरेको सोधपुछका क्रममा उनले यस्तो बताएका हुन् । उनले भनेका छन्, ‘निश्चय नै त्रुटि नभएको भन्ने होइन तर म बाट होइन । म कुलिङ अफ पिरियड राख्ने पक्षमा सुरुदेखि आजसम्म छु र भोलि पनि राष्ट्रिय सभाले यो राख्ने प्रावधान ल्यायोस् भन्ने पक्षमा छु ।’
सभापति खतिवडाका अनुसार संघीय निजामती सेवा विधेयक राज्य व्यवस्था तथा सुशासन समितिमा गइसकेपछि यो कानुन देशको संविधान पछिको अति नै महत्त्वपूर्ण कानुनको रूपमा रहेको स्पिरिटमा छलफल भएको थियो ।
खतिवडासँग छानबिन समितिले असार ३२ गते सोधपुछ गरेको थियो ।
समितिले उक्त प्रतिवेदन आज प्रतिनिधिसभामा पेस गरेको छ । छानबिन समितिका सभापति जीवन परियारले प्रतिवेदन पेस गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस