काठमाडौं। भृकुटीमण्डपमा भइरहेको नाइमा मोविलिटी एक्स्पोमा उपभोक्ताको उत्साहजनक भीड देखिएको छ।
नाडा अटोमोबाइल एशोसिएसनको विकल्पमा खुलेको नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएसन(नाइमा) खुलेको ६ महिना पनि नपुग्दै गरेको एक्स्पोमा भीडसँगै संस्थाले बलियो उपस्थिति देखाएको छ।
यो एक्स्पोसँगै १० दिनपछि भृकुटीमण्डपममै हुन लागेको नाडा शोलाई चुनौती थपेको छ। ५० वर्षको इतिहास बोकेको नाडाले आफ्नो अटो शोलाई पृथक बनाएर उपभोक्ता आकर्षित गर्नेतर्फ ध्यान दिनुपर्छ। त्यही भएर पनि नाडाका अध्यक्ष करण चौधरी शुक्रबार नाइमाको मोविलिटी एक्स्पोमा पुगेका थिए।

नाडा अध्यक्ष पुगेको फोटोलाई नाइमाले आफ्नो सामाजिक सञ्जालमा समेत राखेर राम्रै प्रशंशामा पनि गरेको थियो। यसले दुबै संस्थासँग आपसी सम्वन्ध राम्रो रहेको देखाउँछ। तर संस्थागत रुपमा हुने प्रतिस्पर्धालाई समेत नाडाले राम्रैसँग आंकलन गरेको व्यवसायीहरु बताउँछन्। स्पेयर पार्ट्स बिक्री गर्दै आएका नाडाका एक सदस्यका अनुसार नाइमाको भीडले केही तरंग ल्याएको स्वीकार्छन्। उनका अनुसार भीडले नाडामा थप सुधार गरेर एक्स्पोलाई पृथक बनाउने बाटो समेत खुलेको छ। ती व्यवसायीले तीन हजारभन्दा बढी संस्था रहेको र राम्रा केही गाडी उत्पादक पनि त्यहाँ नगएकोले आतिनुपर्ने अवस्था नभएको जिकिर गर्छन्। ´त्यहाँ स्पेयर पार्ट्सहरु एउटा पनि छैन। उपभोक्ताले त्यस्ता विषय पनि हेर्छन्। त्यो वाहेक हामीसँग चांगनको फ्लाइङ कार पनि आउँदैछ। टाटाको नयाँ विद्युतीय गाडी ह्यारियर र सुजुकीको भिटारा आउँदैछ,´ ती व्यवसायीले भने।
उपभोक्ताको भीड के मा ?
नाइमा मोविलिटी एक्स्पोमा आकर्षक छुट दिइएकोले समेत गाडी किन्नेकै बढी भीड देखिएको छ। गाडी बिक्रेताले एक्स्पोमा अधिकतम २० लाख रुपैयाँसम्म छुट दिएका छन्। गाडी बेच्नका लागि दिइएको यही छुटका कारण पनि उपभोक्ताको भीड लागेको हो। व्यवसायीका अनुसार चालु आर्थिक वर्ष बजेट आउनुअघि राजस्व २० प्रतिशतसम्म बढ्ने अनुमानका कारण केही बिक्रेताले धेरै गाडी आयात गरेका थिए। तर, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले विद्युतीय गाडीमा राजस्व परिवर्तन गरेनन्। राजस्व परिवर्तन नभएपछि बिक्रेताले आयात गरेका गाडी सल्टाउनकै लागि हेभी डिस्काउन्ट दिएका हुन्। त्यही डिस्काउन्टका कारण पनि नाइमाको एक्स्पोमा गाडी किन्नेनै उपभोक्ता धेरै आएका छन्।
सबैभन्दा भीड इन्ट्री लेभलको इभीमा देखिएको छ। पछिल्लो ४ वर्षदेखि नेपाली बजारमा इभीले लिएको बजार यो अटो शोले अझै धेरै बढाउने देखिएको छ। अहिले बीवाइडी गाडीको अधिकृत बिक्रेता साइमेक्स इंकले ल्याएको एटो-१ मा भीड देखिएको छ। चीनमा सिगल र युरोपमा सर्फ नाममा बिक्री हुँदै आएको यो गाडी नेपालमा एटो-१बाट बिक्री हुनेछ।
यो गाडीको डाइनामिक भेरियन्टको २८ लाख ९५ हजार र प्रिमियमको ३२ लाख ९५ हजार मूल्य राखिएको छ। यो बहुप्रतिक्षित ह्याचब्याक सेग्मेन्टको कार झण्डै अढाई सयको हाराहारीमा बुकिङ भइसकेको स्रोतले बतायो।
एक्स्पोमा अर्को भीड अमोडामा रहेको छ। अमोडाको अमोडा इ फाइभमा आकर्षक छुट दिएकाले उपभोक्ताको भीड छ। यो गाडीमा ८ लाख रुपैयाँभन्दा बढी छुट छ। यो वाहेक जेको जे ६ मा पनि उपभोक्ताको राम्रो उपस्थिति रहेको छ।

जिकरले गाडीमा १५ लाख रुपैयाँको छुट दिएको छ। ८४ लाख ९९ हजार रुपैयाँ पर्ने यो गाडी अब ६९ लाख ९९ हजार रुपैयाँ रहेकाले उपभोक्तालाई यसले तानेको छ। एक्स्पोमा लिप मोटर पनि सबैले तानेको छ। लिपमोटरको सी-१०को मूल्य अहिले ४९ लाख ९९ हजारमा झरेको छ। पावरफूल मानिएको यो गाडीमा १० लाख रुपैयाँ छुट छ। यो वाहेक कायीमा पनि ९ लाख छुट दिइएकोले उपभोक्ताको रोजाईंमा परेको छ।
एक्स्पोमा इन्ट्री र मिड लेभल मात्रै होइन प्रिमियम सेग्मेन्टको गाडी हेर्न आउने पनि राम्रै छन्। बीवाइडी सिलायन-७, महिन्द्रा एक्सइभी ९ ई र एमजी आइएम ६ बुकिङ गर्नेको संख्या पनि बढ्दो छ। गाडी वाहेक एक्स्पोमा विद्युतीय र आइसी इन्जिन भएका बाइकमा पनि युवापुस्ताको आकर्षण उत्साहजनक छ ।

प्रतिक्रिया दिनुहोस