काठमाडौं । नेपालका लागि चांगान अटोमोबाइलको आधिकारिक वितरक, एमएडब्लु ग्रुपले आफ्नो नयाँ इलेक्ट्रिक एसयूभी दीपल एस–०५ एक समारोहबीच सार्वजनिक गरेको छ । दीपल एस–०७ को सफलतापछि बजारमा ल्याइएको यो नयाँ मोडलले नेपाली ईभी बजारमा नयाँ प्रतिस्पर्धा सिर्जना गर्ने अपेक्षा गरिएको छ ।
कम्पनीले दीपल एस–०५ दुई भेरियन्टमा सार्वजनिक गरेको छ । जसको लाइट भेरियन्टको मूल्य ४८ लाख ९९ हजार र म्याक्स भेरियन्टको मूल्य ५४ लाख ९९ हजार रुपैयाँ तोकेर बिक्री सुरू गरेको हो ।
काठमाडौंमा आयोजित भव्य कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत महामहिम छेन सोङ, एमएडब्लु वृद्धि का अध्यक्ष विष्णु अग्रवाल, प्रबन्ध निर्देशक विवेक सिकारिया, चंगन अटो साउथइस्ट एसियाका प्रबन्ध निर्देशक झाङ जियानहुआ लगायतको उपस्थिति थियो । कार्यक्रममा डीपलका ब्रान्ड एम्बेसडर तथा पूर्व क्रिकेटर पारस खड्का पनि उपस्थित थिए ।
एमएडब्लु वृद्धिका अध्यक्ष विष्णु अग्रवालले एमएडब्लुले ६० वर्षभन्दा बढी समयदेखि नेपाली बजारमा विश्वास कमाएको बताए । उनले भने, ‘नेपालमा कार किन्नु भनेको विश्वासको सम्बन्ध गाँस्नु हो । चंगनको १६३ वर्षको गौरवशाली इतिहास र एमएडब्लुको ६ दशकको विरासतले यो सहकार्यलाई अझ बलियो बनाएको छ ।’
उनले नेपालको ९० प्रतिशतभन्दा बढी बिजुली स्वच्छ जलविद्युतबाट उत्पादन हुने भएकाले ईभी प्रयोग गर्नु वातावरण र उपभोक्ताको खल्ती दुवैका लागि फाइदाजनक रहेकोमा जोड दिए ।
एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले दीपल एस–०५ का अत्याधुनिक विशेषताहरूबारे विस्तृत प्रस्तुति दिएका थिए । यसमा ’क्वीन को–पाइलट प्यासेन्जर सिट’ र ’वेलकम सिट’ जस्ता सुविधा छन्, जसले गाडीभित्र पस्ने बित्तिकै आरामदायी र प्रिमियम अनुभव प्रदान गर्छ । रिमोट इन एन्ड आउट पार्किङः साँघुरो ठाउँमा पार्किङ गर्दा गाडी बाहिरैबाट रिमोटको सहायताले अगाडि–पछाडि सार्न सकिने सुविधा रहेको छ भने गाडीको गति, नेभिगेसन जस्ता जानकारी सिधै चालकको आँखा अगाडि विन्डस्क्रिनमा देखिने प्रविधि रहेको छ ।
यस्तै गाडी बाहिर रहेका व्यक्तिसँग गाडी भित्रबाटै कुरा गर्न सकिने अनौठो सुविधा छ । १८ वटा उच्च गुणस्तरका स्पिकर र स्पोटिफाई, युट्युब जस्ता एप चलाउन मिल्ने कनेक्टेड फिचर रहेका छन् । यसमा एडीएएस २.० प्रणाली अन्तर्गत १९ वटा उन्नत सुरक्षा फिचरहरू समावेश छन्, जुन यो सेग्मेन्टमा सबैभन्दा बढी हो ।
यसमा सीएटीएल कम्पनीको ’गोल्डेन सिल्ड ब्याट्री सिस्टम २.०’ प्रयोग गरिएको छ, जसको लाइफ ५,००० साइकलसम्म रहेको दाबी गरिएको छ । यो रियल–ह्विल ड्राइभ गाडीले १५ मिनेटमै फास्ट चार्ज हुन सक्छ । यसको स्लिक र प्रिमियम फ्रेमलेस डिजाइनले २०२५ को प्रतिष्ठित ’आईएफ डिजाइन अवार्ड’ जितिसकेको छ ।
कार्यक्रमका प्रमुख अतिथि, चिनियाँ राजदूत महामहिम छेन सोङले सफल लन्चको लागि चंगन र एमएडब्लु ग्रुपलाई बधाई दिए । उनले भने, ‘चिनियाँ ईभी प्रविधि विश्वमै अग्रणी छ र नेपाली उपभोक्ताले सबैभन्दा नयाँ र उन्नत प्रविधि प्रयोग गर्न पाउनु खुसीको कुरा हो ।’
उनले एमएडब्लु ग्रुपले चिनियाँ प्रविधिलाई अँगालेर दूरदर्शी निर्णय लिएको र यसले नेपालको आर्थिक र सामाजिक संरचनामा सकारात्मक परिवर्तन ल्याउन मद्दत गर्ने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस