काठमाडौं । वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिई नेपाली कामदारलाई मकाउ पठाउने क्रममा ‘वर्ल्ड वाइड ह्युमन म्यानपावर’ले अनियमित गतिविधि सञ्चालन गर्दै आएको तथ्य सार्वजनिक भएको छ।
वैदेशिक रोजगारमा संलग्न वर्ल्ड वाइड ह्युमन रिसोर्स नेटवर्किङ प्रालि (दर्ता नं. ५३४-०६१-६२)ले श्रम स्वीकृतिका लागि फर्जी विवरण र कागजात पेश गरी एक कम्पनीको स्वीकृति लिई अर्को कम्पनीमा श्रमिक पठाउने गरेको प्रमाण भेटिएको हो।
प्रमाणअनुसार, ग्राण्ड लिस्बोआ मकाउको नाममा श्रम स्वीकृति लिई ग्यालेक्सी होटलमा पठाउने, ग्यालेक्सी होटलको स्वीकृति लिई मेल्को रिसोर्ट एन्ड इन्टरटेनमेन्टमा पठाउने कार्य बारम्बार भइरहेको पाइएको छ। प्रायः नेपाली श्रमिकहरूलाई सुरक्षा गार्ड, हाउसकिपिङ र क्लिनरका रूपमा पठाइएको देखिन्छ।

मकाउमा कडा श्रम कानुन भएपनि नेपाल-मकाउबीचको स्वीकृति प्रक्रियामा कम्पनी सञ्चालक सागर थापलियाले राजनीतिक पहुँचको प्रयोग गरी गैरकानुनी अभ्यासलाई निरन्तरता दिएको आरोप लागेको छ। तर, थापलियाले भने आफूले कुनै झुटा विवरण पेश नगरेको र फरक डिमाण्डअनुसार कामदार नपठाएको दाबी गरेका छन्।
म्यानपावर सञ्चालकको अनियमित श्रम स्वीकृतिले सरकारलाई नै गुमराहमा पार्ने कार्य भएको भन्दै वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवनसिंह गुरुङले सरकारलाई कडाइका साथ निगरानी गर्न आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस