काठमाडौं । अन्तर्राष्ट्रिय रूपमा प्रतिष्ठित युरोमनि उत्कृष्टता पुरस्कार २०२५ अन्तर्गत प्रभु बैंक लिमिटेड “Nepal’s Best Digital Bank for SMEs” उपाधिबाट सम्मानित भएको छ। यो सम्मान अन्तर्राष्ट्रिय ख्यातिप्राप्त संस्था युरोमनि लिमिटेडद्वारा सिङ्गापुरमा आयोजित भव्य समारोहका बीच प्रदान गरिएको हो।
उक्त कार्यक्रममा बैंकका प्रमुख व्यवसाय अधिकृत रश्मी पन्तसहित बैंकका अन्य थप तीन महिला अधिकृतहरूले संयुक्त रूपमा सम्मान ग्रहण गरेका थिए।
यसअघि पनि प्रभु बैंक 'वर्षको बैंक २०२३' बाट सम्मानित भइसकेको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो सेवा, नवप्रवर्तन र ग्राहकप्रतिको समर्पणद्वारा बैंकले सशक्त उपस्थिति जनाइसकेको छ।
यो सम्मानले साना तथा मझौला उद्यम लक्षित डिजिटल सेवा प्रवाहमा प्रभु बैंकले खेलेको अग्रणी भूमिकालाई अन्तर्राष्ट्रिय मान्यता दिएको छ। नवीन प्रविधिको प्रयोग गर्दै प्रभु बैंकले ग्राहक–केन्द्रित डिजिटल समाधानहरू उपलब्ध गराई देशभरका लघु तथा मझौला व्यवसायहरूलाई सरल, सुरक्षित र छरितो बैंकिङ सेवा प्रदान गर्दै आएको छ।
पछिल्ला केही वर्षयता बैंकले मोबाइल तथा इन्टरनेट बैंकिङ, डिजिटल कर्जा प्रवाह, व्यवसायिक भुक्तानी समाधान, अनलाइन खाता सञ्चालन, कर तथा राजस्व तिर्ने डिजिटल माध्यम, बीमा तथा वित्तीय परामर्श सेवा जस्ता अत्याधुनिक सेवाहरूको माध्यमबाट SME बैंकिङमा उल्लेखनीय प्रगति गरेको छ। यी सेवाहरूले साना तथा मझौला व्यवसायहरूलाई आधुनिक बैंकिङ प्रणालीसँग जोड्दै उनीहरूको व्यवसाय वृद्धिमा प्रभावकारी सहयोग पुर्याएका छन्।
प्रभु बैंकले आफ्नो सेवा रणनीतिमा साना तथा मझौला उद्यमलाई विशेष प्राथमिकता दिँदै, ग्राहक आवश्यकताअनुसार अनुकूलित डिजिटल सेवा विकास तथा विस्तारमा निरन्तर नवप्रवर्तन गर्दै आएको छ। यही प्रतिबद्धता र कार्यान्वयनका कारण बैंकले अन्तर्राष्ट्रिय स्तरमा सम्मान प्राप्त गर्ने अवसर पाएको हो।
सम्मान प्राप्तिसँगै प्रमुख कार्यकारी अधिकृतले यो उपलब्धि केवल संस्थागत सफलताको प्रमाण नभई सम्पूर्ण नेपाली उद्यमशीलता समुदायको जित भएको बताउनुभयो। डिजिटल वित्तीय पहुँचमार्फत साना व्यवसायहरूलाई सशक्त बनाउने अभियानमा प्रभु बैंक अझ प्रभावकारी योजना ल्याउने प्रतिबद्धतासहित अघि बढ्ने उल्लेख गर्दै, यसले थप जिम्मेवारीसहित उद्यमीहरूलाई प्रेरित गर्ने हौसला प्रदान गरेको छ।
हाल प्रभु बैंकले देशभर ३१२ शाखा, ४८ विस्तार काउन्टर, २५६ एटीएम, तथा सशक्त डिजिटल प्लेटफर्ममार्फत आफ्ना सेवा प्रवाह गर्दै आएको छ। ‘डिजिटल नेपाल’ को राष्ट्रिय अभियानलाई आत्मसात गर्दै बैंकले आगामी दिनमा अझ नवीन र व्यापक डिजिटल समाधानहरूसहित साना तथा मझौला व्यवसायहरूलाई दीगो बैंकिङ सेवा उपलब्ध गराउने तयारी गरिरहेको छ।
प्रतिक्रिया दिनुहोस