काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य उद्योग दर्ता, अनुमतिपत्र जारी तथा नवीकरणका लागि नेपाल फुड एण्ड फिड इन्डस्ट्री लाइसेन्सिङ सिस्टम (नेफिल्स) नामक अनलाइन प्रणाली सुरु गरेको छ।
सरकारी सेवालाई प्रविधिमैत्री बनाउने उद्देश्यसहित विभागको वेबसाइटमार्फत यो सुविधा उपलब्ध गराइएको हो। मंगलबार विभागका महानिर्देशक सञ्जीव कुमार कर्माचार्यले विशेष कार्यक्रममा प्रणालीको शुभारम्भ गर्दै यसको महत्वबारे जानकारी गराए।
उक्त कार्यक्रममा काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेपलाञ्चोकका ७० भन्दा बढी खाद्य उद्योगी तथा विभिन्न छाता संगठनका प्रतिनिधिहरू सहभागी थिए। सहभागीहरूलाई नेफिल्स प्रणाली प्रयोग गर्ने तरिका भिडियो र डेमोमार्फत देखाइयो।
उद्योगी व्यवसायीहरूले प्रणालीले छिटो, छरितो र पारदर्शी सेवा दिनुपर्नेमा जोड दिए। तर, यसलाई प्रभावकारी बनाउन विभागीय कर्मचारीहरूको तत्परता र सहयोग महत्वपूर्ण हुने उनीहरूको भनाइ थियो। महानिर्देशक कर्माचार्यले खाद्य स्वच्छता तथा गुणस्तर ऐनअनुसार नै प्रणाली विकास गरिएको उल्लेख गर्दै यसमार्फत दर्ता, अनुमतिपत्र र नवीकरण सेवा सहजै उपलब्ध हुने जानकारी दिए।
प्रतिक्रिया दिनुहोस