काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा आगामी साउन २६ देखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ‘नाइमा अटो शो–२०२६’ (नेपाल मोबिलिटी एक्स्पो) आयोजना हुँदैछ । अटोमोबाइल क्षेत्रको सबैभन्दा ठूलो प्रदर्शनीमध्ये एक याे कुम्भ मेलाकाे तयारी तीव्र पारिएकाे छ ।
नाइमा अध्यक्ष ऋतु सिंह वैद्यका अनुसार एक्स्पोमा ५५ वटा अटोमोबाइल ब्रान्डका ५२ स्टल रहनेछन् । प्रदर्शनीमा दुईपांग्रे, चारपांग्रे, व्यावसायिक सवारी, विद्युतीय तथा हाइब्रिड मोबिलिटी सोलुसन, प्रविधि र सेवासहित ४० भन्दा बढी नयाँ उत्पादन तथा मोडल सार्वजनिक गरिदैँछ ।
वैद्यका अनुसार यस वर्षको एक्स्पो सवारीसाधन प्रदर्शन र बिक्रीमा मात्र सीमित हुने छैन । नीति, प्रविधि र पूर्वाधार विकासका विषयमा गम्भीर बहस गर्ने उद्देश्यले विभिन्न ‘लर्निङ सेसन’ आयोजना गरिनेछ ।
लर्निङ सेसनमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई), यातायात पूर्वाधार, ट्राफिक व्यवस्थापन, ब्याट्री रिसाइक्लिङ, इथानोल ब्लेन्डिङ र वित्तीय नीतिलगायत विषयमा स्वदेशी तथा विदेशी विज्ञले प्रस्तुति दिनेछन् । नेपालमा विद्युतीय सवारीको संख्या बढ्दै जाँदा ब्याट्री व्यवस्थापन र रिसाइक्लिङ चुनौतीपूर्ण बन्दै गएकाले भारतका विशेषज्ञलाई समेत आमन्त्रण गरी यस विषयमा विशेष छलफल गरिनेछ । सबै लर्निङ सेसन निःशुल्क हुनेछन् ।
अध्यक्ष वैद्यले विद्युतीय सवारीमा ‘पिक पावर’का आधारमा कर निर्धारण गर्ने व्यवस्था अव्यावहारिक भएको बताइन् । प्राविधिक सेटिङअनुसार पिक पावर परिवर्तन हुन सक्ने भएकाले यसले सवारीको मूल्य र करको स्ल्याबमा अन्योल सिर्जना गर्ने उनको भनाइ छ ।
त्यस्तै, सडकमा पर्याप्त लेन मार्किङ, पार्किङ तथा आवश्यक पूर्वाधारको व्यवस्था नगरी ट्राफिक जरिवाना मात्र बढाउनु उचित नहुने उनी बताउछिन । यद्यपि, सिटबेल्ट नलगाउने र मादक पदार्थ सेवन गरी सवारी चलाउनेजस्ता स्पष्ट उल्लङ्घनमा भने कडाइ आवश्यक रहेको अध्यक्ष वैद्यकाे बुझाइ छ।
उनका अनुसार नाइमाले व्यापारिक गतिविधिसँगै सामाजिक र प्राविधिक जिम्मेवारीसमेत निर्वाह गर्दै आएको छ । संस्थाले ट्राफिक प्रहरीसँगको सहकार्यमा हालसम्म १ हजार ६ सय जनालाई विद्युतीय तथा हाइब्रिड सवारी सञ्चालनसम्बन्धी तालिम दिइसकेको छ ।
यस वर्षको एक्स्पोलाई अपाङ्गमैत्री बनाइनुका साथै वर्षाबाट जोगिने व्यवस्था, स्तरीय रेस्टुरेन्ट तथा पर्याप्त पार्किङको प्रबन्ध गरिएको छ । नेपाल पुलिस क्लबमा पार्किङको व्यवस्था गरिएको छ भने लर्निङ सेसन पनि सोही स्थानमा सञ्चालन हुनेछ ।
आर्थिक सुस्तताबीच नयाँ सरकारले आगामी ६ देखि ८ महिनाभित्र सकारात्मक नीतिगत सुधार गर्ने अपेक्षा व्यक्त गर्दै अध्यक्ष वैद्यले ‘नाइमा अटो शो–२०२६’ ले अटोमोबाइल बजारमा नयाँ उत्साह ल्याउनेछ । उनले नयाँ प्रविधि र सवारीसाधनबारे जानकारी लिन सर्वसाधारणलाई एक्स्पोमा सहभागी हुन आग्रह गरेकी छन् ।
आगामी वर्षदेखि यात्रुवाहक र व्यावसायिक सवारीको प्रदर्शनी छुट्टाछुट्टै आयोजना गर्ने तथा अटोमोबाइल उद्योगका लागि छुट्टै ‘अटोमोटिभ कन्क्लेभ’ आयोजना गर्ने योजना रहेकाे वैद्यले बताइन् ।
रेड बुल नेपाल एक्स्पोकाे बेभरेज पार्टनर हाे । एक्स्पो अवधिमा रेड बुलले विभिन्न आकर्षक कार्यक्रम प्रस्तुत गर्नेछ ।
नाइमाका अनुसार एक्स्पोका को–स्पोन्सर ग्लोबल आइएमई बैंक लिमिटेड छ । एक्स्पोमा आगन्तुकका लागि विशेष बैंकिङ तथा सवारीसाधन वित्तीय सुविधा उपलब्ध गराउनेछ । त्यस्तै, एनएमबी बैंक र सिद्धार्थ बैंक बैंकिङ पार्टनर, सगरमाथा लुम्बिनी इन्स्योरेन्स इन्स्योरेन्स पार्टनर, बोस नेपाल प्रविधि पार्टनर, पठाओ राइड पार्टनर तथा ग्लोबल कलेज अफ म्यानेजमेन्ट एजुकेसन पार्टनरका रूपमा सहभागी छन् ।
एजाइल इन्जिनियरिङ सोलुसन्स र अग्नि इनर्जी चार्जिङ पार्टनर, एक्वा मिनरल्स हाइड्रेसन पार्टनर, आइएमई खल्ती टिकटिङ पार्टनर तथा द सोल्टी काठमाडौं हस्पिटालिटी पार्टनरका रूपमा आबद्ध छन् ।
त्यस्तै, नर्भिक इन्टरनेसनल अस्पताल हेल्थ पार्टनर, वत्सल इम्पेक्स (हिकभिजन) सर्भिलेन्स पार्टनर, हिट्को अग्नि तथा सुरक्षा पार्टनर, वर्ल्डलिंक कम्युनिकेसन्स कनेक्टिभिटी पार्टनर, पायोनियर इभेन्ट म्यानेजमेन्ट अडियो–भिजुअल पार्टनर, युनियन पे क्यूआर पार्टनर, डिजिपल सोलुसन्स डिजिटल पार्टनर तथा एटिएस नेपाल सवारी सुरक्षा तथा पार्किङ समाधान पार्टनरका रूपमा रहेका छन् ।
प्रफिट मिडिया प्रकाशन पार्टनर तथा मिडिया स्पेस सोलुसन्स इभेन्ट म्यानेजमेन्ट पार्टनरका रूपमा एक्स्पोसँग जोडिएका छन् ।
प्रतिक्रिया दिनुहोस