मोरङ । मोरङका विभिन्न कार्यालय प्रमुखहरूको बैठकले जेनजी आन्दोलनका क्रममा भएको क्षतिको तत्काल मूल्यांकन गरी सेवाप्रवाह सुरु गर्ने निर्णय गरेको छ।
आइतबार बसेको बैठकपछि प्रमुख जिल्ला अधिकारी (प्रजिअ) इन्द्रदेव यादवले क्षतिको विवरण संकलन गरेर रकम यकिन गर्ने, त्यसको मूचुल्का तयार गर्ने र सकेसम्म छिटो सेवा पुनःसञ्चालन गर्ने व्यवस्था मिलाइने जानकारी दिए। उनका अनुसार, कुनै कारणवश तत्काल सेवा दिन नसकिने अवस्थामा सोको जानकारी सेवाग्राहीलाई तुरुन्तै गराइनेछ।

बैठकमा जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय र नापी कार्यालय सूचारु नभएसम्म वडा कार्यालयमार्फत सिफारिस नदिने निर्णय गरिएको छ। साथै, जनजीवन सामान्यतर्फ फर्किएको अनुभूति हुने गरी निरन्तर समन्वय गर्दै अघि बढ्ने विषयमा पनि छलफल भएको प्रजिअ यादवले बताए।
उनका अनुसार, बैठकमा उपस्थित सबै कार्यालय प्रमुखहरूले कार्यालय सञ्चालन सहज बनाउन आजैदेखि काम थाल्ने प्रतिबद्धता जनाएका छन्।
यसैबीच, तोडफोड भएर जल्न बाँकी रहेको सटरमै अस्थायी रूपमा काम सुरु गरिएको छ। प्रजिअ यादवका अनुसार, नागरिकका आकस्मिक आवश्यकता र समस्यालाई सम्बोधन गर्न सटरबाटै सेवा दिन थालिएको हो।
प्रतिक्रिया दिनुहोस