काठमाडौं । जेनजी मुभमेन्ट अलाइन्सले भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीमाथि हुने निरन्तर प्रहार र बस्ती हटाउने कार्यको घोर निन्दा गर्दै, सम्बन्धित समुदायसँगको सहमति र उचित व्यवस्थापन अपनाइ समस्या समाधान गर्न काठमाडौं महानगरपालीकालाई आग्रह गरेको छ ।
अलाइन्सले काठमाडौं महानगरपालिकाले पर्याप्त अध्ययन र वैकल्पिक योजना नबनाई बस्तीहरूमा डोजर लगाउने तयारी गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तीमा उल्लेख छ। उनीहरूले यसलाई नागरिकको अधिकार कुण्ठित गर्ने, उत्पीडन र भय सिर्जना गर्ने कदम भएको टिप्पणी गरेका छन्।
विज्ञप्तिमा भनिएको छ, “भूमि अधिकार जनताको पहिचान, आवासीय प्रयोजन र उत्पादनसँग सम्बन्धित नैसर्गिक अधिकार हो। भूमिहीन र सुकुम्बासीहरूको समस्या राज्यले समाधान गर्नु अनिवार्य छ। ऐतिहासिक रूपमा सीमित वर्गको अधीनमा भूमि व्यवस्थापन र दलियकरणका कारण समस्या यथावत् छ।”
अलाइन्सले महानगरपालिकालाई सम्बन्धित समुदायसँग सहमति गरेर बस्ती व्यवस्थापन गरियोस्, निहत्था नागरिकमाथि दम्भ वा तिरस्कार नचलाइयोस्। साथै, महानगरपालिकाले बस्तीहरूको यथार्थ विवरण सार्वजनिक गरी स्पष्ट तथ्यांक उपलब्ध गराउनुपर्ने माग गरिएको छ।
विज्ञप्तिमा नेपालको भूमि सम्बन्धी ऐतिहासिक प्रणाली, पुर्खौली थातथलोको अधिग्रहण र विकास आयोजनाका नाममा भूमि हडप्ने अभ्यासले नागरिकलाई लामो समयदेखि कष्ट पुर्याएको छ। यस सन्दर्भमा सबै पक्षको ध्यानाकर्षण र समाधान आवश्यक रहेको अलाइन्सले जोड दिएको छ।
प्रतिक्रिया दिनुहोस