विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले किरात धर्मका महान गुरु समाज सुधारक तथा सत्य, अहिंसा र नारी सम्मानका प्रवर्तक महागुरु फाल्गुनन्द लिङदेनको जन्मजयन्तीको अवसरमा श्रद्धा अर्पण गर्दै शुभकामना व्यक्त गरेका छन ।
मुख्यमन्त्री कार्कीले महागुरुको सत्य वचन, अहिंसा, परोपकार र नैतिक जीवनशैलीले नेपाली समाजलाई सहिष्णुता, एकता र सद्भावतर्फ अघि बढ्न प्रेरणा दिएको बताए । उनले बाल्यकालदेखि नै समाज सुधारमा लाग्नुभएका महागुरुको योगदानले किरात धर्म, संस्कृति र मौलिक परम्पराको संरक्षणमा महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गरे ।
उनले नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक भएको चर्चा गर्दै सबै जात, भाषा, धर्म र संस्कृतिको संरक्षण र सम्बर्द्धन गर्न कोशी प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । फाल्गुनन्दको ‘सत्य बोल्ने, अहिंसा अपनाउने, नारीको सम्मान गर्ने’ सन्देश आज पनि जीवनपथका अमूल्य प्रेरणाका स्रोत भएको मुख्यमन्त्री कार्कीले बताए ।
उनले महागुरुको आदर्शबाट प्रेरित भई शान्त, समृद्ध र सहिष्णु समाज निर्माणमा सबै एकजुट हुनुपर्नेमा जोड दिए । मुख्यमन्त्री कार्कीले फाल्गुनन्दको शिक्षाले सत्य, सद्भाव र एकताको भावनालाई सुदृढ पार्ने विश्वास व्यक्त गरे ।
उनले कोशी प्रदेश सरकार यहाँको भाषा संस्कृति लिपिको संरक्षण सम्बर्धनमा प्रतिबद्ध रहेको बताउँदै संवैधानिक व्यवस्था अनुसार भाषाहरूलाई प्रदेशमा प्रयोगमा ल्याइने प्रतिबद्धता समेत व्यक्त गरेका छन ।
प्रतिक्रिया दिनुहोस