काठमाडौं । राष्ट्रिय गौरवको सुनकोशी मरिण बहुउद्देश्यीय आयोजनाको ठेक्का तोड्ने प्रक्रिया सुरु भएको छ। बाँध, विद्युतगृह र हाइड्रोमेकानिकल संरचना निर्माणका लागि पटेल–रमण जेभीसँग भएको ठेक्का सम्झौता रद्द गर्ने तयारी अघि बढाइएको हो।
आयोजनाले सार्वजनिक सूचना जारी गर्दै ठेक्का सम्झौताको करिब ६१ प्रतिशत समय सकिँदा भौतिक प्रगति मात्र १० प्रतिशत भएको र निर्माण व्यवसायीले सुधारको प्रयास नगरेको कारण ठेक्का तोड्ने प्रक्रिया अघि बढाइएको जनाएको छ।
यससँगै कार्यसम्पादन जमानत २ अर्ब ४० करोड र अग्रिम भुक्तानी १ अर्ब २० करोड गरी ३ अर्ब ६० करोड रुपैयाँ बैंक ग्यारेण्टी जफतको प्रक्रिया पनि सुरु गरिएको छ।
ठेक्का सम्झौता १४ अर्ब ८ करोड ८ लाख रुपैयाँमा भएको थियो र माघ २०७९ मा काम सुरु भएको थियो। असार २०८४ भित्र निर्माण सम्पन्न गर्नु पर्ने सम्झौता भए पनि हालसम्म भौतिक प्रगति केवल १० प्रतिशत मात्र रहेको छ।
सुनकोशी मरिण आयोजनाले सिन्धुली–रामेछाप क्षेत्रको पानी मरिण नदीमा सारेर मधेशका पाँच जिल्लामा वर्षैभरी सिँचाइ सुविधा पुर्याउने र ३१ मेगावाट जलविद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ। आयोजनाको अनुमानित लागत ४९ अर्ब ४२ करोड रुपैयाँ रहेको छ।
प्रतिक्रिया दिनुहोस