मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका–३ स्थित गोहिहोली खोलामा निर्माण हुन लागेको पुल सोमबार एक विशेष समारोहबीच शिलान्यास गरिएको छ।
करिब ३० वर्षदेखि स्थानीयको मुख्य आवश्यकता मानिँदै आएको सो पुलको शिलान्यास कार्यक्रममा पूर्व सांसद एवं नेपाली कांग्रेसका युवा नेता डा. सुनिल शर्मा पनि सहभागी भएका थिए । उनलाई स्थानीयले नौमती बाजा, सांस्कृतिक झाँकी र फूलमाला सहित भव्य स्वागत गरेका थिए।
कार्यक्रममा प्रदेशसभा सदस्य गीता तिम्सिना, प्रदेश सांसद मानवबहादुर लिम्बू, पथरीशनिश्चरे नगरपालिकाका मेयर मोहन तुम्वापो, उपमेयर, वडाध्यक्ष तथा अन्य स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

स्थानीयका अनुसार गोहिहोली खोलामा पुल नहुँदा यहाँको जनजीवन लामो समयदेखि प्रभावित हुँदै आएको थियो। वर्षायाममा आवत–जावत जोखिमपूर्ण मात्र होइन, स्वास्थ्य उपचार, शिक्षा, व्यापार–व्यवसाय र दैनिक क्रियाकलापमै बाधा पर्ने समस्या थियो। “हामीले यो पुलका लागि वर्षौँदेखि माग गर्दै आएका थियौं, आज त्यो सपना पुरा हुँदैछ,” स्थानीयले खुसी व्यक्त गरे।

पिपलचोकलाई किरातिचोकसँग जोड्ने सो पुल ७ करोड ८३ लाख ७५ हजार रुपैयाँमा निर्माण हुने भएको छ। पुल बनेपछि करिब हजारौँ जनताको दैनिक आवत–जावत सहज हुने, कृषिजन्य वस्तुको बजार पहुँच बढ्ने र स्थानीय व्यापारिक गतिविधिमा उल्लेख्य वृद्धि हुने अपेक्षा गरिएको छ।
सो अवसरमा मेयर मोहन तुम्वापोले नगरपालिकाले समन्वय, सहयोग र निगरानीमार्फत निर्माणलाई प्राथमिकतामा राख्ने बताए भने प्रदेश सांसद गीता तिम्सिनाले पुल निर्माणले स्थानीय विकासको नयाँ अध्याय सुरु गर्ने बताइन्।
प्रतिक्रिया दिनुहोस