काठमाडौं । बलिउडकी वरिष्ठ अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) सांसद हेमा मालिनीले आफ्ना पति तथा चर्चित अभिनेता धर्मेन्द्रबारे फैलाइएका भ्रामक समाचारप्रति दुख व्यक्त गरेकी छिन्।
हालै धर्मेन्द्र स्वास्थ्य उपचारका लागि अस्पतालमा भर्ना भएका छन्। तर, केही मिडियाहरूले उनीबारे झुटा समाचार प्रसारण गरेपछि हेमा मालिनीले सामाजिक सञ्जाल ‘एक्स’ (पूर्व ट्विटर) मार्फत ती खबरहरूको खण्डन गरेकी हुन्।
हेमाले लेखेकी छन्, “जे भइरहेको छ, त्यो माफ गर्न सकिँदैन ! जिम्मेवार भनिने समाचार माध्यमहरूले उपचारको असर देखाइरहेका र सुधार भइरहेका व्यक्तिबारे कसरी यस्ता झुटा समाचार फैलाउन सक्छन्”
उनले थप लेखेकी छन्, “यो अत्यन्तै अपमानजनक र गैरजिम्मेवार व्यवहार हो। कृपया परिवार र निजी जीवनको सम्मान गर्नुहोस्।”
आज (नोभेम्बर ११) बिहान केही मिडिया रिपोर्टहरूमा धर्मेन्द्रको निधन भएको दाबी गरिएको थियो। तर ती सबै खबरहरू पूर्ण रूपमा गलत भएको पुष्टि गरिएको छ। धर्मेन्द्र उपचारपछि क्रमशः स्वास्थ्यलाभ गर्दै छन्।
प्रतिक्रिया दिनुहोस