काठमाडौं । सय केजी सुन प्रकरणमा दोषी ठहर भई जेल सजाय भोगिरहेका र जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका एक कैदीलाई प्रहरीले पुनः पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले भोजपुर अरुण गाउँपालिका–४ घर भई हाल बूढानीलकण्ठ–४ पासीकोट बसोबास गर्दै आएका ५१ वर्षीय हर्कराज राईलाई पक्राउ गरेको हो ।
राई भदौ २४ गते जेनजी आन्दोलनका क्रममा सुन्धारास्थित केन्द्रीय कारागार, जगन्नाथदेवलबाट फरार भएका थिए । उनीमाथि संगठित अपराध, सुन भन्सार चोरी–पैठारी र नेपाल राष्ट्र बैंकसम्बन्धी कसुरमा मुद्दा दायर भई सजाय सुनाइएको थियो ।
पक्राउ परेका राईलाई पुनः केन्द्रीय कारागारमा बुझाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस