काठमाडौं। डेडिकेटेड र ट्रङ्क लाइनबाट विद्युत् उपभोग गरी प्रिमियम महसुल नतिर्ने उद्योगहरूले किस्ताबन्दीमार्फत बक्यौता बुझाएपछि देशभर काटिएका उद्योगहरूमा विद्युत् आपूर्ति पुनः सुरु गरिएको छ।
नेपाल विद्युत् प्राधिकरणले तोकेको २८ किस्तामध्ये पहिलो किस्ता बुझाउने उद्योगहरूलाई पुनः लाइन जडान गरिएको हो।
प्राधिकरणले बक्यौता नतिरेको भन्दै देशभरका २५ उद्योगको विद्युत् लाइन काटेको थियो। तीमध्ये एभरेस्ट पेपर मिल्स र बुटवल सिमेन्ट उद्योगले हालसम्म भुक्तानी नगरेका कारण अझै बन्द छन्।
प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार प्रिमियम बक्यौताका कारण मात्रै कुनै उद्योगको लाइन काटिएको अवस्था अहिले छैन।
प्राधिकरणले असोज १२ गते सूचना जारी गर्दै २८ किस्तामा बक्यौता तिर्न २१ दिनको समय दिएको थियो। किस्ताबन्दी सुविधाअन्तर्गत हुलास स्टिलले १४ करोड रुपैयाँभन्दा बढी बक्यौतामध्ये पहिलो किस्ताबापत ५० लाख ४३ हजार रुपैयाँ बुझाएको छ।
त्यस्तै, सिमरास्थित अशोक स्टिल्सले पनि पहिलो किस्ताबापत ६३ लाख रुपैयाँ भुक्तान गरेको प्राधिकरणले जनाएको छ।
प्रतिक्रिया दिनुहोस