२०८३, जेठ २८ गते

बिहिवार, जेठ २८ गते २०८३

तनहुँका तीन ठूला सडक आयोजना समस्याग्रस्त, वर्षौंदेखि काम अधुरै

शनिवार , कार्तिक २९, २०८२

तनहुँ । तनहुँका तीन ठूला सडक आयोजना निर्माण सुरु भएको लामो समय भएपनि सम्पन्न गर्न नसक्दा चुनौति थपिएको छ । गण्डकी प्रदेश सरकारको बजेटमा निर्माण सुरु गरिएका यहाँका तीन सडकलाई समस्याग्रस्त आयोजनामा राखिएको छ ।

भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयको बजेटबाट सुरु गरिएका जिल्लाका तीन सडकलाई पूर्वाधार विकास कार्यालय तनहुँले समस्याग्रस्त आयोजनाका रूपमा राखेको कार्यालय प्रमुख रवीन्द्र तिवारीले जानकारी दिए ।

तिवारीका अनुसार आँबुखैरेनी छिम्केश्वरी सडक, दुलेगौडा हर्कपुर सडक र भानुमार्ग चन्द्रावती पिलिगार्ग, कुन्छा कालीमाटी सडकलाई समस्याग्रस्त आयोजनाका रूपमा राखिएको जानकारी दिँदै उक्त सडक सम्पन्न हुन नसक्दा समस्या भएको उल्लेख गरे । उनले भने, “लामो समयदेखि निर्माण सुरु भएर पनि समयमै काम सम्पन्न हुन नसकेका यी आयोजनामा काम सम्पन्न गराउन खबरदारी गर्दै आएका छौँ ।”

आँबुखैरेनी छिम्केश्वरी सडक (पहिलो खण्ड) कालोपत्रका लागि विसं २०७६ मङ्सिर ६ गते सम्झौता भएको थियो । विसं २०७८ फागुन १३ गतेसम्म सम्पन्न गर्नुपर्ने म्याद भए पनि पटक–पटक म्याद थप गरिएको कार्यालयले जनाएको छ । उक्त सडकको अन्तिम विसं २०८२ असोजसम्म थियो ।

प्रमुख तिवारीका अनुसार उक्त सडकको भौतिक प्रगति ९१ प्रतिशत र वित्तीय प्रगति ८९ प्रतिशत भएको छ । उक्त सडकका लागि ३६ करोड पाँच लाख ५० हजार पाँच सय १५ मा एमएस शर्मा काष्ठमण्डप जेभी बल्खुसँग सम्झौता भएको थियो । १६ किलोमिटर लम्बाइ उक्त सडकका लागि ३१ करोड ९२ लाख ९७ हजार चार सय ४२ भुक्तानी भइसकेको छ । गत आर्थिक वर्षमा उक्त सडकका लागि रु तीन करोड ५० लाख बजेट विनियोजन भएको थियो ।

भानुमार्ग चन्द्रावती पिलिमार्ग कुन्छा कालिमाटी सडक निर्माणका लागि विसं २०७६ कात्तिक ४ गते सम्झौता भएको थियो । सम्झौता अनुसार विसं २०७८ माघ १५ गते सम्पन्न गर्नुपर्ने थियो । तर उक्त खण्डमा पनि पटक पटक म्याद थप गरिएको छ । हाल उक्त सडकको म्याद विसं २०८२ चैतसम्म थप भएको छ ।

१० दशमलब १२ किलोमिटर उक्त खण्डमा हालसम्म ५० प्रतिशत भौतिक र ५० प्रतिशत वित्तीय प्रगति भएको छ ।

२३ करोड दुई लाख ८० हजार छ सय ६१ को लागतमा एमएस शङ्करमालि निर्माण सेवा प्रालिसँग सम्झौता भएकामा दश करोड ११ लाख एक हजार सात सय ५० भुक्तानी भएको छ । गत आर्थिक वर्षमा उक्त सडकका लागि तीन करोड ५० लाख बजेट विनियोजन गरिएको थियो ।

यस्तै एमएस शङ्करमाली निर्माण सेवाले नै ठेक्का पाएको दुलेगौडा हर्कपुर सडकको काम पनि अलपत्र छ । उक्त सडक स्तरोन्नतिका लागि विसं २०७६ कात्तिक ४ गते सम्झौता भएको थियो । विसं २०७८ माघ १५ मा सकिनुपर्नेमा उक्त खण्डको म्याद पनि पटक पटक भप भएको छ । हाल विसं २०८२ चैत प्रस्ताव गरिएको पूर्वाधारा विकास कार्यालयले जनाएको छ ।

उक्त सडकमा ५० प्रतिशत भौतिक र ५० प्रतिशत वित्तीय प्रगति भएको छ । हालसम्म १३ करोड चार लाख ११ हजार सात सय ५३ भुक्तानी भएको छ । गत आर्थिक वर्षमा उक्त सडकका लागि दुई करोड बजेट विनियोजन भएको थियो ।

१० दशमलब १८ किलोमिटर सडक स्तरोन्नतिका लागि २५ करोड ९९ लाख दुई हजार आठ सय ९५ मा सम्झौता भएको थियो । शुक्लागण्डकी नगरपालिका, म्याग्दे गाउँपालिका हुँदै व्यास नगरपालिकासँग जोडिने उक्त खण्डको दूरी २३ किलोमिटर छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट