काठमाडौं । हामी नेपालका संस्थापक सुधन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्याललाई आफूहरूको मौनतालाई कमजोरी नठान्न चेतावनी दिएका छन्।
मध्यराती सामाजिक सञ्जाल फेसबुकमार्फत ‘द काउन्सिल अफ जेनजी’को व्यानरमा धारणा राख्दै गुरुङले सिमरामा भएको घटनामा गृहमन्त्रीको लाचारीपन भएको आरोप लगाएका छन्। उनका अनुसार, एमालेद्वारा परिचालित ‘गुण्डा’हरूले जेनजीको शान्तिपूर्ण कार्यक्रममा प्रवेश गरी अपमान र कुटपिट गरेका थिए।
गुरुङले भने, “यदि गृहमन्त्रीले राजीनामा नदिए, भ्रष्टाचारी र हत्यारालाई समात्न नसके, र देश प्रेमी युवाहरूमाथि कुटपिट र पक्राउ गर्ने हो भने ‘मलाई पनि पक्राउ गर’ राष्ट्रिय अभियान चलाउने चुनौती दिन्छु।”
उनले चेतावनी दिँदै भनेका छन्, “हत्याराहरू खुल्ला चुनौती दिदै हिँड्दा सरकार चुप बस्यो भने यो ज्वालामुखीको उभार ठूलो हुनेछ। हाम्रो मौनतालाई कमजोरी नठान्नुस्।”
सुधन गुरुङ पछिल्लो समय गृहमन्त्री अर्यालविरुद्ध कडा प्रतिक्रिया दिँदै आएका छन्।
प्रतिक्रिया दिनुहोस