काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनका लागि हेलमेट ब्रान्ड केपीआई क्लब लुम्बिनी लायन्सको ‘सेफ्टी पार्टनर’ बनेको छ। यस सम्बन्धमा लुम्बिनी लायन्स र केपीआई हेलमेट उत्पादक कम्पनी कोहीनुर प्लास्टिक इन्डस्ट्रिज बीच सम्झौता भएको हो।
सम्झौता औपचारिक रूपमा यस सिजनका लागि भए पनि दुवै पक्षबीच कम्तीमा दुई वर्ष निरन्तर सहकार्य गर्ने प्रारम्भिक समझदारी भएको कम्पनीले जनाएको छ। “मेड इन नेपाल उत्पादनलाई क्रिकेटजस्तो लोकप्रिय खेलमार्फत ब्रान्डिङ गर्न पाउनु हाम्रो लागि गर्वको कुरा हो,” कोहीनुर प्लास्टिक इन्डस्ट्रिजका अध्यक्ष सुमन बस्यालले भने, “यो सहकार्य दीर्घकालीन रूपमै अघि बढ्नेछ।”
कोहीनुर प्लास्टिक इन्डस्ट्रिजले आवश्यक कच्चा पदार्थ विदेशबाट आयात गरी पूर्ण रूपमा नेपालमै केपीआई ब्रान्डका हेलमेट उत्पादन गर्दै आएको छ। एनपीएलमा घरेलु ब्रान्डको समावेशीकरण र समर्थनले राष्ट्रिय उत्पादन तथा खेल क्षेत्र दुवैलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।
यो साझेदारीले नेपाली खेलाडीहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै घरेलु उद्योगलाई पनि नयाँ पहिचान दिलाउने विश्वास व्यक्त गरिएको छ।
प्रतिक्रिया दिनुहोस