काठमाडौं । सुनौलो नेपालले चितवनको भरतपुरमा आयोजना गरेको ‘भरतपुर कन्क्लेभ’ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। भरतपुरस्थित होटल सिराइचुलीमा दिउँसो २ बजेदेखि सुरु भएको कार्यक्रममा भरतपुरको विकास मोडल, पर्यटन प्रवर्द्धन र मेडिकल हबका रूपमा भविष्यका सम्भावनामाथि केन्द्रित थियो।
कार्यक्रम तीनवटा प्यानल डिस्कसनमा विभाजित थियो। कार्यक्रमको सुरुवात शैक्षिक उद्यमी सुरेन्द्र सुवेदीले ‘मैले देखेको भरतपुर’ विषयमा मन्तव्य राखेका थिए।
पहिलो सेसन भरतपुरको विकास तथा निर्माणमा केन्द्रित थियो। यस प्यानलमा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा। मिनबहादुर श्रेष्ठ र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा सहभागी थिए। सेसनको सहजीकरण वरिष्ठ पत्रकार राजेन्द्र बानियाँले गरेका थिए।
कार्यक्रमको दोस्रो सेसन भरतपुरको पर्यटन विकासबारे थियो। यस प्यानलमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली र डा। विश्व सुवेदी सहभागी थिए। सेसनको सहजीकरण पत्रकार समा थापाले गरेकी थिइन्।
तेस्रो सेसन भरतपुरलाई मेडिकल हबका रूपमा विकास गर्ने विषयमा केन्द्रित थियो। यस प्यानलमा भरतपुर अस्पतालका पूर्व अध्यक्ष डा। भोजराज अधिकारी, ओम मेघा श्री फर्मास्युटिकल्सका अध्यक्ष अर्जुनकुमार श्रेष्ठ, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका निर्देशक डा। शिवजी पौडेल र सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल सहभागी थिए। सेसनको सहजीकरण पत्रकार प्रकाश ज्ञवालीले गरेका थिए।
कार्यक्रममा सञ्चारमन्त्री जगदीश खरेल प्रमुख अतिथिका रूपमा उपस्थित थिए।
कार्यक्रमलाई समापन गर्दै सुनौलो नेपालका अध्यक्ष मोहराज पौडेलले कन्क्लेभले भरतपुरको समग्र विकासका लागि नयाँ दिशा र मार्गचित्र प्रस्तुत गरेको बताए।
प्रतिक्रिया दिनुहोस